काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष शिवरत्न शारडाको अध्यक्षतामा काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष शारडाले प्रस्तुत गरेको कम्पनीको वार्षिक प्रगति प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ ।
वार्षिक साधारणसभाले कम्पनीमा कायम सेयरधनीहरूलाई ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, आगामी चार वर्षको कार्यकालका लागि तीनजना सञ्चालक निर्वाचित गरी अध्यक्ष शिवरत्न शारडाको नेतृत्वमा सुशील गुप्ता, नन्दिनी मारु तथा चार्टर्ड एकाउन्टेन्ट प्रदीपराज उपाध्याय सम्मिलित सञ्चालक समिति गठन गरिएको छ ।
नवनिर्वाचित सञ्चालक समितिलाई कम्पनी सञ्चालनको अख्तियारी समेत प्रदान गरिएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यसैगरी, कम्पनीको यसअघि जारी पुँजी पाँच अर्ब ८० करोडको २० प्रतिशत अर्थात् एक करोड १६ लाख कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने जनाएको थियो ।
स्वीकृतिका लागि यसअघि नेपाल धितोपत्र बोर्डसमक्ष पेस गरिएको विवरणपत्रमा आवश्यक संशोधन तथा परिमार्जन गरी अद्यावधिक विवरणसहित पुन: पेस गर्ने व्यवस्था मिलाउने निर्णय पनि साधारणसभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।