पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औं महाधिवेशन तथा ७२औं साधारण सभाको अवसरमा कास्कीका तीन उत्कृष्ट विद्यार्थीलाई लक्ष्मी विद्या पदक प्रदान गरिएको छ।
व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर र स्नातक तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई शनिबार आयोजित विशेष समारोहमा पदक र नगदसहित सम्मान गरिएको हो।
लक्ष्मी विद्या पदक–२०८२ बाट स्नातकोत्तर (एमबिए) तर्फ जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ सम्मानित भएकी छन्।
स्नातक (बिबिए) तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमिल्सिना र स्नातक (बिबिएस) तर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित भए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उनीहरुलाई पदक र पुरस्कार वितरण गरे।

स्नातकोत्तर तहमा उत्कृष्ट हुनेलाई २५ हजार र स्नातक तहमा उत्कृष्ट हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । नगदसँगै उनीहरुलाई माला, दोसल्ला, ताम्रपत्र र विद्या पदक दिइएको छ।
यो पदकको स्थापना २०५५ साल पुस २० गते भएको थियो। पोखरा महानगरको दोस्रो नगर परिषदमा पोखरेली नवरत्नका रुपमा सम्मानित हुँदा लक्ष्मी हाउसका बुद्धिबहादुर श्रेष्ठले पाएको १० हजार रुपैयाँमा लक्ष्मी हाउसका तर्फबाट २ लाख १ हजार १ सय ११ रुपैयाँ थप गरी अक्षयकोष बनाइएको थियो।
सोही कोषमार्फत लक्ष्मी ग्रुपले पदक स्थापना गरेको हो भने यसको सञ्चालन पोखरा उद्योग वाणिज्य संघले गर्दै आएको छ।