काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले जेन्जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडि आयोजित कार्यक्रममा सहिद र घाइतेको भावनाको सम्मान हुन नसकेको टिप्पणी गरेकी छन् । मंगलबार आयोजना गरिएको सो कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ, कानुनमन्त्री सोबिता गौतमलगायतले सम्बोधन गरेका थिए । उनले कार्यक्रमको स्वरूपप्रति असन्तुष्टि जनाउँदै आफ्ना सन्तान गुमाएका परिवार र आन्दोलनमा घाइते भएकाहरूको पीडालाई कार्यक्रमले कसरी सम्बोधन गर्यो भन्ने प्रश्न उठाएकी छन् । कार्यक्रममा धर्मगुरुको उपस्थितिको औचित्यमाथि समेत उनले प्रश्न गरेकी छन् ।
धितालले जेन्जी आन्दोलनका क्रममा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र निरंकुश सत्ताको विरोधमा सडकमा उत्रिएको स्मरण गर्दै अहिले आफूहरूमाथि प्रश्न गर्नेहरूलाई धम्की र चेतावनीको भाषा प्रयोग गर्न नहुने बताएकी छन् । उनले आन्दोलनको मूल भावना र सहिदहरूको बलिदानलाई आत्मसात् गर्दै आफूहरू पनि सुध्रिनुपर्नेमा जोड दिएकी छन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पुराना दलका नेताहरुलाई समय छदै सुध्रिन चेतावनी दिएका थिए । सांसद धितालले गृहमन्त्रीको नाम उल्लेख नगरी उनीप्रति कटाक्ष गर्दै आत्मसमीक्षाको आवश्यकता औल्याउदै उनले भनेकी छन्- ‘सुध्रिनु अरुले मात्रै पर्ने, हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान् सहिदहरूको बलिदान ?’
२- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३५८ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३५८ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७०, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ ।
अहिलेसम्म १०२ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार सम्पर्कविहीन रसुवा जिल्लाबाट सम्पर्कविहीन भएका २८६०, रसुवा जिल्लाका नागरिक १३९३, अन्य जिल्लाका नागरिक १२८६ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी २६ जना रहेका छन् । त्यस्तै नुवाकोटका १९८१ र विदेशी पर्यटक ५८७ जना रहेका छन् । प्राधिकरणले अहिलेसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको जानकारी दिएको छ । प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालन गरिउएको छ ।

३- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढी प्रभावित विद्यालय तथा शैक्षिक पूर्वाधारको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री पोखरेल नेतृत्वको टोलीले मंगलबार नुवाकोटका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाको अनुगमन गर्दै क्षतिको अवस्था र विद्यार्थीको पठनपाठनबारे जानकारी लिएको हो । टोलीले शिक्षा विकास तथा समन्वय एकाइ, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, न्यूरेनी सुन्दरी माध्यमिक विद्यालय, सामुदायिक बहुउद्देश्यीय भवन, कर्भट हल, चन्द्रज्योती माध्यमिक विद्यालय र अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा बाढीबाट विद्यालय भवन तथा पूर्वाधारमा भएको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको सिकाइमा परेको प्रभावबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरिएको थियो । प्रभावित विद्यालय र विद्यार्थीको पठनपाठन सहज बनाउन आवश्यक पहल गर्ने मन्त्री पोखरेलले बताएका छन् । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीका कारण १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन रहेको तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको प्रारम्भिक विवरण छ ।
४- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले सुरुङभित्र रहेका ६ जनासम्मलाई छिट्टै जीवित उद्धार गर्न सकिने आशा व्यक्त गरेका छन् । ढकालका अनुसार नेपाली सेनासँगको सहकार्यमा उद्धार टोली घटनास्थलमै खटिएको छ। सेनालाई विस्फोट गराउन सुरक्षित रहेको जानकारी दिएपछि उद्धारको गति बढेको र पछिल्ला दुई दिन विस्फोट गराइएको उनले बताएका छन् ।
उनका अनुसार भोलिसम्म सुरुङको मुखसम्म उत्खनन गर्ने यन्त्र पुग्नेछ र त्यसपछि भित्र प्रवेश गरेर उद्धारको काम थप तीव्र हुने अपेक्षा गरिएको छ । बाँकी कामका लागि पुल्चोक क्याम्पसमा आवश्यक मेसिन तयार भइरहेको र त्यो भोलि बिहान घटनास्थलमा आइपुग्ने ढकालले बताएका छन्। सुरुङभित्र खाना र पानी रहेको हुनसक्ने तथा केही व्यक्तिको स्वास्थ्य अवस्था स्थिर रहेको हुनसक्ने अनुमान गर्दै उनले छिट्टै उद्धार गर्न सकिने बताएका छन् ।
५- चीनको वैदेशिक व्यापारमा चालु वर्षको पहिलो आठ महिनामा उल्लेख्य वृद्धि भएको छ । चीनको भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि अगस्टसम्म चीनको वस्तु आयात–निर्यातको कुल मूल्य ३४.७८ ट्रिलियन युआन पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६ प्रतिशत बढी हो । पहिलो सात महिनाको तुलनामा व्यापार वृद्धिदर ०.३ प्रतिशत बिन्दुले बढेको तथ्यांकमा उल्लेख छ । यस अवधिमा चीनको निर्यात २०.१७ ट्रिलियन युआन पुगेको थियो, जुन वार्षिक आधारमा १४.६ प्रतिशत वृद्धि हो । आयात भने १४.६१ ट्रिलियन युआन पुगेको थियो, जुन २२ प्रतिशतले बढेको हो ।
अगस्ट महिनामा मात्रै चीनको वस्तु व्यापार ४.६५ ट्रिलियन युआन पुगेको थियो । यो अघिल्लो वर्षको अगस्टको तुलनामा १९.८ प्रतिशत बढी हो । अगस्टमा निर्यात १८.६ प्रतिशत र आयात २१.७ प्रतिशतले बढेको थियो । अगस्ट लगातार चौथो महिना हो, जहाँ चीनको निर्यात र आयात दुवैमा दोहोरो अंकको वृद्धि भएको छ । आयातको वार्षिक वृद्धिदर लगातार छ महिनादेखि निर्यातको वृद्धिदरभन्दा उच्च रहेको तथ्यांकले देखाएको छ ।
६- नेपाली कांग्रेसले आगामी असोजमा आयोजना हुने १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लवी, पार्किङ स्थल तथा बगैचा उपलब्ध गराइदिन पत्र लेखेको छ । कांग्रेस केन्द्रीय कार्यालयले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहलाई पत्र पठाउँदै महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ गतेदेखि २० गतेसम्म ६ दिन प्रदर्शनी हल,लवी, पार्किङ स्थल तथा बगैचा बुक गरिदिन पत्र लेखेको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाउँदै उक्त स्थान उपलब्ध गराइदिन अनुरोध गरेका हुन् । कांग्रेसले १५औँ महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा आयोजना गर्न लागेको हो । महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रमको सफल तथा व्यवस्थित आयोजनाका लागि राष्ट्रिय सभा गृहबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वाससमेत कांग्रेसले व्यक्त गरेको छ ।
७- गुठी संस्थानले बस्तीमा डोजर चलाउने सूचना टाँसिएपछि जनकपुरका रजौलवासी आन्दोलित भएका छन् । गुठी संस्थानले को विरोधमा स्थानीयले जनकपुरधामको पिडारी चोकमा चक्काजाम गरेका हुन् । संविधानले नागरिकको मौलिक हकका रूपमा खाद्य तथा आवासलगायतका आधारभूत अधिकार सुनिश्चित गरेको भए पनि सरकार पक्षबाटै ती अधिकारको उल्लंघन हुन थालेको आरोप आन्दोलनकारीको छ । आफ्नो खाद्य सम्प्रभुता, आवास र कपासलगायतका आधारभूत अधिकारको संरक्षणको माग गर्दै स्थानीयले सडकमा उत्रिएर विरोध जनाएका थिए । आन्दोलनकारीहरूले नागरिकका मौलिक अधिकारको सम्मान गर्न तथा आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
८- हङकङ चाइनाले जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई पराजित गरेको छ । मलेसियामा जारी खेलमा हङकङ चाइनाले नेपाललाई १५ रनले पराजित गरेको हो । हङकङ चाइनाले दिएको २६२ रनको लक्ष्य पछाएको नेपाल ४९.१ ओभरमा अल आउट हुदै २४६ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ९० रन बनाएका थिए भने आसिफ सेखले ४४ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २५, गुलशन झाले २० र करण केसीले २१ रन बनाएका थिए । त्यस्तै हङकङ चाइनाका बलर एजाज खानले ४ विकेट लिएका थिए भने यसिम मुर्तजाले २ विकेट लिएका थिए । यसअघि हङकङ चाइनाले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २६१ रन बनाएको थियो ।
हङकङ चाइनाका लागि बाबर ह्यातले शतकीय पारी खेलेका थिए । उनले अविजित रहदै ११७ रन बनाएका थिए । त्यस्तै शहिद वासिफले ४५ रन बनाए भने एहसान खानले अविजित ३५ रन बनाएका थिए । त्यसैगरि नेपाली बलर सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिएका थिए । यो जितपछि हङकङ चाइना समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ भने नेपाल समुह विजेता हुदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अब नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने छ भने हङकङ चाइना भने युएईसँग खेल्ने छ । सेमिफाइनलका खेल विहिबार हुने छन् । एसीसी प्रिमियर कपको फाइनल खेल आगामी शनिबार हुदैछ ।
९- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म हुनेगरी विभिन्न तह र निकायको निर्वाचनको समयतालिका हेरफेर गरिएको छ । महाधिवेशनको मिति यथावत् राख्दै केन्द्रीय निर्वाचन समितिले विभिन्न तहका अधिवेशनको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशभर परेको असरलाई ध्यानमा राख्दै विभिन्न जिल्ला र क्षेत्रबाट प्राप्त सुझावअनुसार अधिवेशनको नयाँ कार्यतालिका तय गरिएको कांग्रेसले जनाएको छ । महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने वैधानिक दायित्वलाई केन्द्रमा राखेर निर्वाचन प्रक्रिया अघि बढाइएको हो । नयाँ कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ । बाढी प्रभावित क्षेत्रमा स्थानीय अनुकूलताअनुसार हुने गरि ६ हजार ७४३ वटै वडामा अधिवेशन गरी वडा कार्यसमिति निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ ।
गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते हुनेछ । केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौँमा सम्पन्न गर्ने कार्यतालिका छ । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ । जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका दोस्रो चरणमा सार्वजनिक गरिनेछ । त्यस्तै, बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सबै क्रियाशील सदस्य तथा पार्टीका विभिन्न तह र निकायलाई निर्वाचन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन आग्रह समेत गरेका छन् ।
१०- फ्रान्सका प्रसिद्ध चित्रकार पियरे अगस्ट रेनोआरलाई समर्पित संग्रहालयबाट चारवटा कलाकृति चोरी भएका छन् । चोरीमा संलग्न दुई जनामध्ये एक जनाले भाग्ने क्रममा एउटा कलाकृति बाटोमै छाडेका थिए । दक्षिण फ्रान्सको काग्नेस सुर मेरस्थित रेनोआर संग्रहालयमा बिहान दुई जना व्यक्ति प्रवेश गरी चारवटा कलाकृति चोरी गरेको नगरप्रमुख ब्रायन मासोनले बताएका थिए । उनका अनुसार चोरी भएका कलाकृतिको अनुमानित मूल्य करिब ९० लाख युरो रहेको छ । संग्रहालयको सुरक्षा प्रणाली बिहान ५ बजेर ४८ मिनेटमा सक्रिय भएको थियो । त्यसको पाँच मिनेटपछि नै, बिहान ५ बजेर ५३ मिनेटमा नगर प्रहरी घटनास्थलमा पुगेका थिए ।
नगरका निगरानी क्यामेरामा चोरीमा संलग्न व्यक्तिहरू देखिएपछि प्रहरीले उनीहरूको पहिचान गर्ने प्रयास गरेको थियो । प्रहरी पछ्याउन थालेपछि उनीहरूले चोरी गरेका चारमध्ये एउटा कलाकृति छाडेर भागेका थिए । घटनापछि नगर प्रहरी र राष्ट्रिय प्रहरी दुवै परिचालन गरिएको छ । चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे अनुसन्धान जारी रहेको नगरप्रमुख मासोनले बताएका थिए । उनले रेनोआर संग्रहालयमा भएको चोरीलाई काग्नेस-सुर-मेरको इतिहास र सांस्कृतिक सम्पदामाथिको आक्रमणका रूपमा व्याख्या गरेका थिए । संग्रहालय र कलाकृतिको सुरक्षा तत्काल बलियो बनाउनुपर्ने आवश्यकता यस घटनाले थप स्पष्ट पारेको उनको भनाइ थियो । नगरप्रमुख मासोनले संग्रहालयहरूको सुरक्षा मजबुत बनाउने र कलाकृतिको संरक्षण गर्ने व्यापक योजना कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको बताएका थिए । उनले आगामी दिनमा सबै आवश्यक स्रोत परिचालन गरी काग्नेस-सुर-मेरका बासिन्दाको साझा सम्पदाको सुरक्षा गरिने बताएका थिए ।
११- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेन्जी आन्दोलनले परम्परागत राजनीतिक शैलीप्रति स्पष्ट अस्वीकार व्यक्त गरेको बताएका छन् । आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको बताएका छन् । उनले आन्दोलनका क्रममा भाद्र २३ र २४ गते भएको घटनालाई दुःखद् भन्दै त्यस क्रममा ज्यान गुमाएका आन्दोलनकारी र कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। परिवर्तनका लागि अब कुनै पनि आमाको काख रित्तिन नपरोस् भन्ने कामना पनि उनले गरेका छन् ।
आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका र मानसिक तथा शारीरिक चोट भोगेकाहरूको उचित उपचार, परिवारको हेरचाह र दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्ने उनले बताए । लामिछानेले जेन्जी आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त रूपमा भएको दाबी गर्दै कुनै पनि दल वा नेताले त्यसलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने बताए । उनका अनुसार आन्दोलनले डिजिटल युगमा हुर्किएको युवा पुस्ता स्वाभिमानी रहेको र आफ्नै देशभित्र भविष्य खोजिरहेको स्पष्ट सन्देश दिएको थियो। उनले युवा पुस्ताले अब कुशासन स्वीकार नगर्ने पनि उल्लेख गरेका छन् ।
लामिछानेले युवा, नागरिक समाज र आम नागरिकलाई रचनात्मक खबरदारी तथा आफ्नो दलको कामको निर्मम समीक्षा निरन्तर गर्न आग्रह गरे । तर, नागरिकमा निराशाको भावना फैलिन दिन नहुने भन्दै नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । उनले जेन्जी आन्दोलनले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट राष्ट्रिय स्वतन्त्र पार्टी एक इन्च पनि विचलित नहुने दृढता व्यक्त गरेका छन् ।
१२- बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ । मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप पठाइसकिएको छ । बिहिबारदेखि रसुवामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
१३- पेरिसस्थित आइफिल टावरमा धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीलाई ड्युटीबाट हटाइएको आरोपपछि विवाद चर्किएको छ । करिब १०० सदस्यीय हिन्दू धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा केही महिला कर्मचारीलाई जिम्मेवारीबाट हटाएर पुरुष कर्मचारी खटाइएको आरोप लागेपछि आइफिल टावरका कर्मचारीले विरोध जनाएका थिए । विवादपछि आइफिल टावर सञ्चालन गर्ने कम्पनीले प्रतिनिधिमण्डलबाट महिला कर्मचारीसँग कम सम्पर्कमा रहने माग आएको स्वीकार गर्दै त्यस्तो सर्त स्वीकार गर्न नहुने बताएको छ । कर्मचारीहरूले व्यवस्थापनसँग माफी माग्दै घटनाको विस्तृत छानबिन गर्न माग गरेका छन् ।
कर्मचारीको बैठकका कारण सोमबार आइफिल टावर सर्वसाधारणका लागि खुल्न केही ढिलाइ भएको थियो । प्रतिनिधिमण्डलसँग सम्बन्धित बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस)ले भने आफ्नो भ्रमणका क्रममा कसैलाई पनि आइफिल टावर प्रवेश गर्न नरोकेको स्पष्ट पारेको छ । ठूलो प्रतिनिधिमण्डल भएकाले अन्य पर्यटकलाई कम असुविधा होस् भनेर आइफिल टावरको टोलीसँग समन्वय गरी बिहानको समयमा भ्रमण तय गरिएको र घटनाबाट कसैलाई दुःख पुगेको भए हृदयदेखि माफी माग्ने संस्थाले जनाएको छ । यसैबीच, पेरिसका मेयर इम्यानुएल ग्रेगोयरले घटनाका सबै तथ्य सार्वजनिक गर्न छानबिनको आदेश दिएका छन् । यो विवाद पेरिसनजिकै बीएपीएसको हिन्दू मन्दिर उद्घाटन भएको केही दिनपछि आएको हो । उद्घाटन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भर्चुअल रूपमा सहभागी भएका थिए । बीएपीएसले आपसी सम्मान र सेवा भावप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।
१४- नेपालले एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेको भन्दै विश्व स्वास्थ्य संगठनले सम्मान गरेको छ । टिमोर–लेस्टेको राजधानी डिलीमा जारी विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकका क्रममा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो। बैठकमा नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहेको छ ।
बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा र सुरक्षित प्रसूति अभ्यासमार्फत नेपालले मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको उपलब्धि निरन्तर कायम राखेको भन्दै विश्व स्वास्थ्य संगठनले सम्मान गरेको हो। संगठनका महानिर्देशकले प्रतिनिधिमण्डल प्रमुख डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसियामा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ । यसैबीच, नेपालमा आएको विनाशकारी बाढीका कारण स्वास्थ्य प्रतिकार्य, समन्वय तथा जीवनरक्षाका कार्यमा प्रत्यक्ष खटिनुपर्ने भएकाले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता बैठकमा सहभागी हुन सकेकी छैनन्। उनले भिडियो सन्देशमार्फत बाढीबाट सिर्जित संकट र प्रभावित समुदायको अवस्थाबारे जानकारी गराउँदै जलवायु न्याय तथा स्वास्थ्य क्षेत्रमा जलवायु वित्तको आवश्यकता औँल्याएकी छन् ।
१५- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत वर्ष भएको ‘जेन्जी आन्दोलन’का क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनमा घाइते भएका र सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । भाद्र २३ गते आन्दोलनका क्रममा संसद् भवनभित्र प्रवेश गर्ने क्रममा भएको झडपमा दर्जनौँ युवाले ज्यान गुमाएको र सयौँ घाइते भएको स्मरण गर्दै पोखरेलले उक्त घटनाको एक वर्ष पूरा भएको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाह सहज बनाउनुपर्ने तथा सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने युवाहरूका माग जायज रहेको उल्लेख गरेका छन् । पोखरेलले सरकारले त्यतिबेला सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको, बरु सामाजिक सञ्जाल सञ्चालन गर्ने संस्थालाई नेपालमा दर्ता हुनुपर्ने नीति अघि सारेको दाबी गरेका छन् ।
तर सरकारले आफ्नो नीतिबारे स्पष्ट रूपमा बुझाउन नसक्दा सामाजिक सञ्जालमा अभ्यस्त नयाँ पुस्ता सडकमा आउन पुगेको उनको भनाइ छ । उनले शान्तिपूर्ण प्रदर्शनलाई सुरुदेखि नै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गर्दै प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। यही नै ‘जेन्जी आन्दोलन’को वास्तविक भावनाको सम्मान हुने उनको भनाइ छ । वर्तमान सरकार आन्दोलनको भावनाअनुसार नभई त्यसलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको स्पष्ट भएको पोखरेलले आरोप लगाएका छन्। उनले युवाहरूको वास्तविक भावनाको कदर, मुलुकमा सुशासनको प्रत्याभूति र विधिको शासन स्थापना आजको प्रमुख आवश्यकता भएको बताएका छन् । एमाले युवाहरूका जायज माग सम्बोधन गर्न प्रतिबद्ध रहेको र विगतमा भएका कमजोरी सुधार गर्दै अघि बढ्ने उनले बताएका छन् ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३५ सयले बढेर तोलाको ३ लाख ५ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ४७९० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४६९० मा कारोबार भएको थियो ।
१७- अस्ट्रेलियाका विदेशमन्त्री पेनी वाङले क्यानबेरास्थित नेपाली दूतावासमा पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन् । नेपालमा आएको विपत्तिप्रति दुःख व्यक्त गर्दै विदेशमन्त्री वाङले अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको बताएकी छन् । उनले शोक पुस्तिकामा लेखेकी छन्- ‘अस्ट्रेलिया नेपालका जनताको साथमा छ । आज मैले क्यानबेरास्थित नेपाली दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेकी छु ।’ उनले विपत्तिबाट प्रभावित अस्ट्रेलियाली नागरिकलाई सहयोग गर्न नेपालले गरेको प्रयासप्रति आभार व्यक्त गर्दै नेपाली जनता र नेपाल सरकारप्रति आफ्नो विचार र सहानुभूति रहेको बताएकी छन् ।
१८- राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन् । राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका हुन् । देश र जनताको हित, शान्ति, सुशासन एवम् समृद्धिको सङ्कल्पसहित राष्ट्रपति पौडेलले पूजा अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
१९- सुरक्षा चिन्ताका कारण सन् २०२४ देखि बन्द रहेका भारत र बंगलादेशबीचका मैत्री, मिताली र बन्धन एक्सप्रेस रेल सेवा पुनः सञ्चालन गर्ने विषयमा छलफल हुने भएको छ । दुई देशका रेल अधिकारीबीच ढाकामा सुरु हुने दुईदिने अन्तरसरकारी रेल बैठकमा यस विषयमा औपचारिक छलफल हुने भएको हो । बैठकमा सहमति जुटेमा कोलकाताबाट ढाका र खुल्ना तथा नयाँ जलपाइगुडीबाट ढाकासम्म सञ्चालन हुने तीनवटै रेल सेवा आगामी महिनादेखि पुनः सञ्चालन हुन सक्ने स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बंगलादेशले राजशाही–कोलकाता नयाँ रेल सेवा सञ्चालन तथा ढाका–कोलकाता मैत्री एक्सप्रेसलाई पद्मा पुल हुँदै सञ्चालन गर्ने प्रस्तावसमेत राख्ने भएको छ ।
सन् २०२४ मा बंगलादेशमा भएको राजनीतिक अशान्तिका कारण मिताली एक्सप्रेससहित तीनवटै अन्तरदेशीय रेल सेवा स्थगित भएका थिए । मिताली एक्सप्रेसको रेल पाँच महिनाभन्दा बढी समय बंगलादेशमै रोकिएको थियो भने डिसेम्बरमा कडा सुरक्षा व्यवस्थाबीच भारत फर्काइएको थियो । बैठकमा रेलमार्फत हुने मालसामान ढुवानी तथा भारतको ऋण सहयोगमा निर्माण भइरहेका रोकिएका रेल आयोजना पनि छलफलका विषय बन्ने भएका छन् । यसैबीच भारतले बंगलादेशलाई २०० वटा नयाँ यात्रुवाहक रेल डिब्बा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। करिब ९१५ करोड भारतीय रुपैयाँको सम्झौताअन्तर्गत पहिलो १९ डिब्बाको रेल तयार भइसकेको जनाइएको छ ।
२०- बेलायती राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेगन हाल कार्यरत राजपरिवारका सदस्य नरहेको स्पष्ट पारेका छन् । बेलायत फर्किए पनि उनीहरूले राजपरिवारको प्रतिनिधिका रूपमा कुनै औपचारिक कार्यक्रममा सहभागी हुन नपाउने भएका छन् । राजाको तर्फबाट दरबारका वरिष्ठ अधिकारी लर्ड चेम्बरलेनले पठाएको पत्रमा ह्यारी र मेगनलाई अझै पनि ‘एचआरएच’ अर्थात् राजकीय उच्चताको उपाधि प्रयोग गर्न नपाउने र निजी नागरिककै रूपमा रहने उल्लेख गरिएको छ । पत्र ह्यारीको टोलीसँगै सरकारी निकाय, सैन्य अधिकारी र राजाका स्थानीय प्रतिनिधिहरूलाई पठाइएको दरबार स्रोतले जनाएको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् । ह्यारी र मेगनले गर्ने कुनै पनि सार्वजनिक कार्यक्रम निजी हैसियतमा हुने र त्यसमा उनीहरूले राजपरिवारको प्रतिनिधित्व नगर्ने पत्रमा स्पष्ट पारिएको छ ।
पत्रमा भनिएको छ- ‘सन् २०२० जनवरीमा ड्युक र डचेसले सार्वभौमको प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गर्न छाडेका थिए र उनीहरू अब राजपरिवारका कार्यरत सदस्य होइनन् ।’ सन् २०२० मा बेलायत छाड्दा भएको ‘स्यान्ड्रिङ्घम सम्झौता’ अहिले पनि कायम रहेको दरबारले जनाएको छ । उक्त सम्झौताले राजपरिवारको सदस्यका रूपमा काम गर्दै व्यक्तिगत व्यावसायिक गतिविधि सञ्चालन गर्ने ‘आधा भित्र, आधा बाहिर’ को व्यवस्था अस्वीकार गरेको थियो । ह्यारी र मेगनले अमेरिकामा आर्थिक रूपमा आत्मनिर्भर जीवन बिताउँदै आएका थिए । ह्यारीले आफ्ना संस्मरण प्रकाशित गरेका थिए भने मेगनले खाद्य सामग्रीसम्बन्धी व्यवसाय अघि बढाएकी थिइन् ।
हालै दम्पती आफ्ना छोराछोरी आर्ची र लिलिबेटसहित बेलायत फर्किएका छन् । उनीहरूले यस शरद ऋतुमा आफ्ना परोपकारी गतिविधिका क्रममा सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने अपेक्षा गरिएको छ । ह्यारीले आगामी वर्ष बर्मिङ्घममा हुने इन्भिक्टस खेलकुदलगायत परोपकारी कामलाई निरन्तरता दिने बताइएको छ । यसैबीच, बेलायतमा ह्यारी र मेगनको सुरक्षासम्बन्धी विवाद भने अझै समाधान भएको छैन । दरबारले सुरक्षा व्यवस्थासम्बन्धी विषय सम्बन्धित प्रहरी निकायमार्फत अघि बढाउनुपर्ने स्पष्ट पारेको छ । दरबारले पत्र सार्वजनिक गर्नुको उद्देश्य यस विषयमा पारदर्शिता कायम गर्नु र भविष्यमा पत्र चुहावटमार्फत सार्वजनिक हुन सक्ने अवस्था रोक्नु रहेको विश्लेषण गरिएको छ । ह्यारी र मेगनले भने यस विषयमा अझै कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।