काठमाडौं । काठमाडौंको सुन्धारामा पानी प्राकृतिक वहाव ल्याउने सम्भावना खोज्दै काठमाडौं महानगरपालिकाले अहिले अध्ययन गरिरहेको छ ।
सुन्धारा वरिपरि ठुला संरचना तथा पूर्वाधार निर्माण भइसकेको वर्तमान सन्दर्भमा धारामा पानी ल्याउने र निकास खोल्ने कामका लागि अभियान कन्सल्टिङ्बाट परामर्श सेवा लिएर अध्ययन भइरहेको हो ।
जमिन सतहमा पानीको मात्रा अध्ययन गर्न टुँडिखेलको पश्चिम कुना, महाङकालको दक्षिणमा खनिएको इनारको निरीक्षण गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले पानीको स्रोत र निकास खोज्ने क्रममा अध्ययनका लागि आवश्यक समयबाहेक अन्य एक पल पनि खेर नफाल्न निर्देशन दिइन् । ‘सुन्धारामा पानी खसाल्नु छ । त्यसको निकास खोल्नु छ । हाम्रो अर्जुन दृष्टि त्यही हो । त्यो लक्ष्य पूरा गर्न कटिवद्ध भएर काम गर्नुहोला ।’ उनले परामर्शदातालाई निरन्तर काम गरिरहन र सम्पदा तथा पर्यटन विभागलाई निरन्तर निगरानी गरिरहन निर्देशन दिइन् ।
सुन्धारामा पानी ल्याउने विभिन्न अप्रोच हुन सक्छन् । तर, हाम्रो लक्ष्य भनेको प्राकृतिक रुपमा जल प्रवाह गराउनु हो । डंगोलले लक्ष्य स्पष्ट पार्नुभयो । उहाँले सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र इञ्जिनियरसहित अध्ययनको निरीक्षण गरिन् ।
त्यस क्रममा जल संरक्षण विज्ञ विश्वप्रकाश अमात्यले, इनारमा पानीको उपलब्धता अध्ययन गरेपछि यसपछिको प्रक्रियाका विषयमा भन्न सकिने बताए ।

आज इनार खनिएको ठाउँभन्दा सुन्धाराको सतह १० फिट तल छ । खनिएको ठाउँको १० फिटभन्दा माथिको पानी मात्र सुन्धारामा जान सक्छ । यसकारण इनार १० फिट गहिरो खनिएको छ । यसको गोलाइ साढे ३ फिट छ ।
इनार खन्ने क्रममा हरेक १ फिटमा पाइने र तह परिवर्तन भएको माटोको नमूना लिइएको छ । यो माटोको जाँचबाट पनि पानी उपलब्धताको विश्लेषण गर्न सकिने भूमिगत जलस्रोत विज्ञ डा. विजयमान शाक्यले बताए ।
सुन्धारामा वि. सं. ०४१ सालसम्म पानीको निकास थियो । जव सुन्धारा नजिकै (काठमाडौँ मल) वहुतले भवन बनाउन थालियो । यसको जग खन्ने क्रममा राखिएका फलामे पाताले पानी रोकियो । स्थानीय गौत्तम डंगोल भन्नुहुन्छ, ‘२०५६ सालतिर धारामा पानी ल्याउने प्रयास भयो । पानी पनि आयो । तर, निकास खोल्न नसकेपछि आइरहेको पानी पनि बन्द गर्नु परेको थियो । २०७२ को भूकम्पपछि धरहरा पुननिर्माण गर्ने क्रममा फेरि ठुलो संरचना बनाउँदा पहिलेको प्रणालीमा पनि आघात भयो ।’ डंगोलले, पानीको उपलब्धता र निकासको कथा सुनाए ।