काठमाडौं । प्रतिनिधिसभाका सदस्य तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सदस्य प्रकाश सिंह कार्कीले व्यवसायीलाई विश्वासमा लिएर सरकारले काम गर्नुपर्ने बताएका छन्।
बुधबार राष्ट्रिय उपभोक्ता मञ्चको २१औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै कार्कीले केही व्यक्तिले उद्योगी–व्यवसायीलाई कालोबजारी गर्ने समूहका रूपमा हेर्ने गरेको भन्दै व्यवसायीलाई सम्मानजनक रूपमा हेर्नुपर्ने बताएका हुन्।
उनले गलत काम गर्ने जोसुकैलाई पनि कारबाही गर्नुपर्ने, बजार नियमनलाई कडा बनाउनुपर्ने र अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए।
“व्यवसायीलाई विश्वासमा लिएर काम गर्नुपर्छ। यदि कसैले गलत काम गरेको छ भने त्यस्तालाई कारबाही गर्नुपर्छ। नियमन कडा बनाउनुपर्छ र अनुगमन प्रभावकारी बनाउनुपर्छ,” कार्कीले भने।
पछिल्लो समय ग्यासमा देखिएको अभावलाई लिएर व्यवसायीमाथि नकारात्मक टिप्पणी भइरहेको भन्दै उनले व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताए।

ग्यासको समस्या व्यवसायीका कारण नभई बिचौलियाका कारण उत्पन्न भएको दाबी गर्दै कार्कीले बजार नियमन प्रणाली नै कमजोर रहेको बताए।

“ग्यासको समस्या व्यवसायीले भन्दा पनि बिचौलियाले गरेको हो। हाम्रो नियमन प्रणाली नै कमजोर छ,” उनले भने।
कार्कीले उपभोक्ताको हित संरक्षणका लागि सरकार, प्रतिपक्षी दल तथा सम्बन्धित सबै सरोकारवाला निकाय एक भएर काम गर्नुपर्ने बताए। बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा समेत उनले जोड दिए।
नेपालमा चाडपर्वको मौसम सुरु भइसकेको भन्दै उनले यस्तो समयमा कालोबजारी तथा महँगी बढ्न सक्ने भएकाले सरकारलाई सचेत रहन आग्रह गरे।
“चाडपर्व भित्रिएको छ। यस्तो समयमा कालोबजारी र महँगी बढ्न सक्छ। त्यसतर्फ सरकार चनाखो हुनुपर्छ र बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ,” कार्कीले भने।