बझाङ । बझाङको सदरमुकाम नजिकै पानकोट पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न महिलाको खोजी थालेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक महिलाले पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भइरहेको छ। स्थानीय बासिन्दा तथा पशु अधिकारकर्मीले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय बझाङले घटनाबारे अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी टेक जोराका अनुसार भिडियो सार्वजनिक भएलगत्तै प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको थियो।
प्रहरी टोलीले पानकोट पुल आसपासमा निरीक्षण गरे पनि कुकुर फेला पार्न नसकेको डिएसपी जोराले बताए। उनका अनुसार कुकुर नदीमा खसेपछि जिउँदो रहेरनरहेकोसमेत यकिन हुन सकेको छैन।

पशुपन्छीसम्बन्धी प्रचलित कानुनले पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न तथा यातना दिन निषेध गरेको छ। प्रहरीले भिडियोमा देखिएकी महिलाको पहिचान तथा घटनाको वास्तविकताबारे थप अनुसन्धान भइरहेको जनाएको छ।