काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७–२ को फराकिलो जित निकाल्दै लिगमा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राखेको छ ।
घरेलु मैदानमा भएको खेलमा राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो । बार्सिलोनाले आठौँ मिनेटमै जोआओ कान्सेलोको शानदार लामो दूरीको प्रहारबाट अग्रता लिएको थियो । २५औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । रेसिङ सान्टान्डरका माग्वेटे गुएले ३०औँ मिनेटमा गोल गर्दै अन्तर घटाए पनि बार्सिलोनाले त्यसपछि लगातार दबाब बढायो। ३६औँ मिनेटमा रेसिङ सान्टान्डरका एसियर भिल्लालिब्रेले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोना ३–१ ले अघि बढ्यो। पहिलो हाफको अन्त्यतिर राफिन्हाले अर्को गोल थपेपछि बार्सिलोना ४–१ को अग्रतासहित पहिलो हाफमा गएको थियो ।
दोस्रो हाफमा रेसिङ सान्टान्डरका यासिर जबिरीले ६५औँ मिनेटमा गोल गर्दै अन्तर घटाएर खेल ४–२ को अवस्थामा ल्याएका थिए । तर त्यसको दुई मिनेटपछि नै राफिन्हाले पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पूरा गरे । बार्सिलोनाका लागि गाब्रियल जेसुसले ७९औँ मिनेटमा गोल थपे। खेल सकिन एक मिनेट बाँकी रहँदा लामिन यामालले गोल गरेपछि बार्सिलोनाले ७–२ को फराकिलो जित पक्का गरेको थियो ।
यो जितसँगै बार्सिलोनाले लिगका सुरुवाती छवटै खेल जित्दै १८ अंक जोडेको छ । टोलीले यी छ खेलमा २८ गोल गरेको छ र शीर्ष स्थानमा रहेको छ ।