काठमाडौं । हरेक वर्ष सेप्टेम्बर १७ मा विश्व बिरामी सुरक्षा दिवस मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको नेतृत्वमा मनाइने यस दिवसले स्वास्थ्य सेवाका क्रममा बिरामीलाई हुन सक्ने टार्न सकिने क्षति न्यूनीकरण गर्न जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ ।
सन् २०२६ को विश्व बिरामी सुरक्षा दिवसको मूल विषय ‘गैरसङ्क्रामक रोगका लागि सुरक्षित स्वास्थ्य सेवा’ रहेको छ भने नारा ‘जीवनभर सुरक्षित स्वास्थ्य सेवा’ तय गरिएको छ ।
यस वर्ष मधुमेह, उच्च रक्तचाप, क्यान्सर तथा मुटुसम्बन्धी रोगजस्ता दीर्घकालीन रोगको रोकथाम, पहिचान, उपचार तथा दीर्घकालीन व्यवस्थापनका क्रममा हुन सक्ने टार्न सकिने क्षति कम गर्ने विषयमा ध्यान केन्द्रित गरिएको छ ।
दिवसका अवसरमा निरन्तर उपचार आवश्यक पर्ने गैरसङ्क्रामक रोगमा रहेका सुरक्षा जोखिमबारे जनचेतना बढाउने, बिरामीलाई सुरक्षित स्वास्थ्य सेवा निर्माणमा सहभागी गराउने तथा स्वास्थ्य नीति र प्राथमिक स्वास्थ्य सेवामा बिरामी सुरक्षालाई समेट्ने लक्ष्य राखिएको छ । साथै औषधिको सुरक्षित प्रयोग, रोगको सुरक्षित पहिचान तथा स्वास्थ्यकर्मी र बिरामीबीच प्रभावकारी संवादमा सुधार गर्न जोड दिइएको छ ।

विश्वभर दिवसका अवसरमा विभिन्न कार्यक्रम, नीतिगत छलफल, स्वास्थ्यसम्बन्धी अन्तर्क्रिया तथा समुदायस्तरीय कार्यक्रम आयोजना गरिन्छन् । बिरामी सुरक्षाप्रति ऐक्यबद्धता जनाउन विभिन्न महत्वपूर्ण स्थल तथा सार्वजनिक स्थानलाई सुन्तला रङले उज्यालो पार्ने अभ्याससमेत हुँदै आएको छ ।
