काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। भदौ मसान्तसम्म सरकारले उक्त राजस्व उठाएको हो।
सरकारको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ अर्ब ६७ करोड रुपैयाँले बढेको छ। गत आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारले १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। भदौ मसान्तसम्मको संकलनले वार्षिक लक्ष्यको ११.५९ प्रतिशत हिस्सा ओगटेको छ।
संकलित राजस्वमध्ये कर राजस्वबाट १ खर्ब ७२ अर्ब ४३ करोड रुपैयाँ उठेको छ भने गैरकर राजस्वबाट १० अर्ब ७८ करोड रुपैयाँ संकलन भएको छ।
यस्तै, अनुदान तथा अन्य प्राप्तिसहित सरकारको कुल प्राप्ति १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा सरकारको कुल प्राप्ति १ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

यसरी हेर्दा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारको कुल प्राप्तिसमेत गत वर्षको तुलनामा उल्लेख्य बढेको देखिन्छ।