काठमाडौँ । चिलिमे जलविद्युत् केन्द्रमा फसेर मृत फेला परेका पाँच कर्मचारीको शव पहिचानपछि सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ।
नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत पाँच कर्मचारी फसेका थिए।
मृत्यु हुनेमा इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङ रहेका छन्।
उनीहरूको शव पहिचान गरी आज सम्बन्धित परिवारजनलाई बुझाइएको एसपी रेग्मीले जानकारी दिएका छन्।
उनीहरू बुधबार जलविद्युत् केन्द्रको सुरुङको बाहिरी भागबाट करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा मृत फेला परेका थिए।

उद्धार कार्यमा नेपाली सेनाका बाहिनी पतिको कमान्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी परिचालित भएका थिए।