सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साह नियमित रूपमा कार्यालयमा उपस्थित नभएको भन्दै उनको हाजिरी काटेका छन् ।
अध्यक्ष महतोले बुधबार प्रमुख प्रशासकीय अधिकृत साहको हाजिरी काटेका हुन् । चालु आर्थिक वर्ष सुरु भएयता साहको कार्यालयमा उपस्थिति न्यून रहेको अध्यक्ष महतोको दाबी छ । उनका अनुसार साउन महिनामा साहको हाजिरी सात दिन मात्रै देखिएको छ भने बाँकी दिन ‘काठमाडौं काज’ उल्लेख गरिएको छ ।
‘यो हाम्रो कार्यकालको अन्तिम वर्ष हो । जनताका काम छिटो गर्नुपर्ने बेला प्रमुख प्रशासकीय अधिकृत नियमित रूपमा कार्यालयमा उपस्थित हुनुभएको छैन,’ अध्यक्ष महतोले भने ।
अध्यक्ष महतोले गत आर्थिक वर्ष गाउँ गौरव आयोजनाअन्तर्गत विनियोजित ९ करोड ४० लाख रुपैयाँ कर्मचारीकै कारण खर्च हुन नसकी फ्रिज भएको आरोपसमेत लगाए ।
यता प्रमुख प्रशासकीय अधिकृत साहले भने विवाद असार मसान्तदेखि नै सुरु भएको बताएका छन् । भदौ १० गते गाउँसभा सम्पन्न भए पनि बजेट तथा कार्यक्रम कानुनबमोजिम प्रमाणित नगरिएको विषयमा आफ्नो असहमति रहेको उनको भनाइ छ ।

‘गाउँसभा सम्पन्न भएको १५ दिनभित्र बजेट प्रमाणित गरी प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ,’ साहले भने, ‘त्यसपछि मात्रै अख्तियारी प्राप्त हुने र योजना कार्यान्वयन प्रक्रिया अघि बढ्ने हो ।’

साहले बजेटमा प्रशासनिक खर्च कटौती गरिएको तथा तर्जुमा दिग्दर्शनविपरीत बजेट ल्याइएको भन्दै अध्यक्षलाई ज्ञापनपत्रसमेत बुझाएको बताए ।
आफू कार्यालयमा अनुपस्थित रहेको आरोप भने उनले अस्वीकार गरेका छन् । स्वास्थ्य समस्याका कारण नियमित रूपमा उपस्थित हुन नसकेको स्वीकार गर्दै साहले भदौ २४ र २५ गतेसम्म कार्यालय गएको दाबी गरे ।
विवाद समाधानका लागि बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा छलफलसमेत भएको थियो । छलफलपछि कार्यपालिका बैठक बोलाउने निर्णय भएको जनाइएको छ ।