काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको सहभागितामा कार्यसम्पादन तथा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले “ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्स: परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू – कर्णाली प्रोभिन्स २०८३/८४” शीर्षकमा उक्त सेमिनार आयोजना गरेको हो। कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा अन्य उच्च व्यवस्थापनका अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको बैंकले जनाएको छ ।
सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा गर्दै चालू आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र मुख्य प्राथमिकताहरूमाथि गहन छलफल भएको थियो। साथै, ग्राहकलाई दिइने सेवाको गुणस्तर अभिवृद्धि गर्न तथा लक्ष्य प्राप्तिका लागि केन्द्र र प्रदेशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा अन्तरक्रिया गरिएको बैंकले जनाएको छ। हाल कर्णाली प्रदेशका ८ वटा जिल्लामा बैंकका ११ शाखा कार्यालयहरू सञ्चालनमा छन्।
बैंकले यसअघि नै बागमती, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा यस्तै रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ । सोही अभियानको निरन्तरता स्वरूप कर्णालीमा सेमिनार गरिएको र आगामी दिनमा बाँकी प्रदेशहरूमा पनि क्रमश: कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा व्यवसाय विस्तार र नाफामा उल्लेखनीय प्रगति हासिल गरेको छ। समीक्षा वर्षमा बैंकको कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ भने निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर रु. २ खर्ब ३३ अर्ब ८१ करोड पुगेको छ। यस अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि भई रु. २ अर्ब ९ करोड ८६ लाख पुगेको छ ।

विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘२०२५’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले डिजिटल बैंकिङमा समेत नवीनतम् सेवाहरू प्रस्तुत गर्दै आएको छ।

बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। साथै, नवपुस्ता लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’, र फ्रिलान्सरहरूका लागि विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ सञ्चालनमा छन्।
यसका अतिरिक्त मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा तथा अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखाबाट क्युआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने ‘क्रस बैंक टेलर’ जस्ता आधुनिक सेवाहरू उपलब्ध गराउँदै आएको छ।
हाल बैंकले देशभर ६१ जिल्लामा रहेका आफ्ना २०० वटा शाखा, १६७ वटा एटीएम, ३ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।