काठमाडौँ । भोटेकोसी बाढीपछिको विनाशपछिको पुनर्निर्माण र प्रभावितका लागि राहत एवं उद्धारमा भारतीय सरकारको सहयोग अपेक्षासहित बिहीबार दिल्ली पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगपति र व्यवसायीहरूलाई नेपालमा लगानी तथा व्यापारका अवसर खोज्न र विस्तार गर्न आह्वान गरेका छन्।
नयाँदिल्लीस्थित भारतीय उद्योग परिसंघ (सीआईआई) ले मुख्यालयमा आयोजना गरेको उद्योगीहरूसँगको राउन्ड टेबल छलफललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानी गर्ने यो उपयुक्त समय रहेकाले लाभ लिन भारतीय उद्यमी व्यवसायीसँग आग्रह गरेका हुन्।
कार्यक्रममा नेपालमा लगानी र व्यापारका अवसरबारे छलफल गर्न भारतीय उद्यमीहरू र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो। अर्थमन्त्री वाग्लेले नेपालमा उदीयमान लगानीका अवसर रहेको र देशको आर्थिक रुपान्तरणमा सहभागी हुन भारतीय व्यवसायलाई आग्रह गरे।
उनले भने, ‘नेपालमा तीव्र वृद्धि सम्भावना भएका क्षेत्रमा लगानीको प्रचुर अवसर छ। नेपालमा पहिले नै सञ्चालनमा रहेका भारतीय कम्पनीहरूलाई आफ्नो लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई नेपाली बजारको अन्वेषण गर्न आग्रह गर्छु।’
मन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनागत आर्थिक रुपान्तरणको एजेन्डामा अघि बढिरहेको बताए। उनले नीतिगत सुधारलाई तीव्रता दिन तथा थप अनुमानयोग्य, पारदर्शी र लगानीमैत्री व्यावसायिक वातावरण सिर्जना गर्न सरकारले गरिरहेका प्रयासबारे जानकारी दिए।

डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यका कृषि उत्पादन, वेलनेस पर्यटन र उत्पादन साझेदारीको अवधारणामा आधारित उत्पादन नेपालको अर्थतन्त्रका महत्वपूर्ण चालकका रूपमा उदाउँदै गरेको अर्थमन्त्री वाग्लेको भनाइ थियो।

भारतीय व्यवसायलाई नेपाललाई केवल एक बजारको रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि तथा क्षेत्रीय र विश्वव्यापी आपूर्ति शंखलामा आबद्ध हुन उनले आग्रह गरे।
अर्थमन्त्रीले सरकारले वार्षिक बजेट, कर सुधार र लगानीमैत्री नीतिगत पहलमा सुधार, लगानीका अवरोध कम गर्न र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन हालै चालेका कदमबारे जानकारी गराए।
डा. वाग्लेले नेपाल–भारतबीचको आर्थिक साझेदारीमा विशेषगरी लगानी, उत्पादन, ऊर्जा, पर्यटन, कृषि, डिजिटल अर्थतन्त्र र अन्य उदीयमान क्षेत्रमा ठूलो सम्भावना रहेकामामा जोड दिए। ‘नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार र लगानी विस्तार गर्न बलियो आधार दिएको छ’, उनले भने।
अन्तरक्रियामा सहभागी भारतीय उद्यमीहरूले नेपालमा व्यापार र लगानीका अवसरका लागि तयार रहेको प्रतिबद्धता जनाए। उनीहरूले नेपालको लगानी नीति, प्रोत्साहन, क्षेत्रगत अवसर र व्यावसायिक वातावरणबारे अर्थमन्त्रीसँग जिज्ञासा राखेका थिए।