काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार साउनमा महँगी दर ५.९६ प्रतिशत पुगेको छ । जुन पछिल्लो डेढ वर्षयताकै उच्च हो । यसअघि २०८१ मङ्सिरमा महँगी दर ६.०५ प्रतिशत थियो ।
अघिल्लो वर्ष साउनमा यस्तो दर १.६८ प्रतिशत मात्र थियो । प्रतिवेदन अनुसार साउनमा खाद्य तथा पेयपदार्थ समूहको महँगी ६.७७ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको महँगी दर ५.५२ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको साउनमा खाद्य तथा पेयपदार्थ समूहको महँगी दर बुझाउने मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको उपभोक्ता मूल्य सूचकाङ्क १५.६२ प्रतिशत, फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले बढेको छ ।

प्रतिवेदन अनुसार अर्थतन्त्रको गति अपेक्षा अनुसार नबढे पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ बन्दै गएको छ । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रहेको छ ।

अमेरिकी डलरमा यो सञ्चिति २५ अर्ब ८४ करोड पुगेको छ । यस्तो सञ्चिति १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । त्यस्तै चालु खाता ९४ अर्ब ५९ करोड र शोधनान्तर ९० अर्ब ३४ करोड बचतमा रहेको छ ।