काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ११ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
उद्योग विभागका अनुसार साउन र भदौमा गरी ३२८ परियोजनामार्फत कुल ११ अर्ब १२ करोड ४४ लाख ५७ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको हो।
पर्यटन र सेवाक्षेत्र विदेशी लगानीकर्ताको मुख्य आकर्षणमा देखिएका छन्। दुई महिनाको कुल लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा सबैभन्दा धेरै ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ लगानी प्रस्ताव भएको विभागको तथ्याङ्क छ।
सेवामूलक क्षेत्रमा २६ परियोजनामार्फत ३ अर्ब ३० करोड ५४ लाख ८५ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। यो कुल प्रतिबद्ध लगानीको करिब २९ प्रतिशत हो।
भदौमा मात्रै १३६ परियोजनामार्फत ६ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

यसमध्ये स्वचालित प्रणालीमार्फत १३५ परियोजनाका लागि ६ अर्ब २७ करोड १५ लाख तथा साधारण प्रक्रियामार्फत एउटा परियोजनाका लागि ८० करोड लगानी प्रतिबद्धता आएको हो।

साउनमा १९१ परियोजनामार्फत ३ अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो। साउनको तुलनामा भदौमा प्रतिबद्ध लगानीको रकम उल्लेख्य बढेको देखिन्छ।
क्षेत्रगत रूपमा हेर्दा उत्पादनमूलक उद्योगमा १८ परियोजनामार्फत १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। सूचना प्रविधि तथा सूचनामूलक क्षेत्रमा २१२ परियोजनामार्फत ८१ करोड ७९ लाख ७६ हजार रुपैयाँ लगानी प्रस्ताव भएको छ।
ऊर्जा क्षेत्रमा भने एउटा परियोजनाका लागि मात्रै २ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। त्यस्तै कृषिमूलक क्षेत्रमा एउटा परियोजनामार्फत २० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ।
पहिलो दुई महिनामा खनिज तथा पूर्वाधार क्षेत्रमा भने विदेशी लगानी प्रतिबद्धता आएको छैन। यस अवधिमा पर्यटन, सेवा र ऊर्जा क्षेत्रमा आएको लगानी प्रस्तावले विदेशी लगानीको क्षेत्रगत प्राथमिकता मुख्यत: सेवा तथा पर्यटनसँग सम्बन्धित गतिविधितर्फ केन्द्रित रहेको देखाएको छ।
भदौमा मात्रै ६ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी प्रतिबद्धता आउनु र साउन–भदौको दुई महिनामा ११ अर्बभन्दा बढी लगानी प्रस्ताव हुनु चालु आर्थिक वर्षको सुरुआती विदेशी लगानी प्रवाहको महत्वपूर्ण सूचकका रूपमा देखिएको छ।