काठमाडौं । नेपाल वितरक संघको आयोजनामा संघको वार्षिक कार्यक्रमहरूलाई योजनाबद्ध रूपमा अगाडि बढाउने उद्देश्यका साथ योजना तर्जुमा कार्यशाला तथा नेतृत्व एवं व्यक्तित्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ।
शनिबार आयोजित उक्त कार्यक्रम संघको कार्यसमितिका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रीय समितिका सदस्यको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा स्रोत व्यक्ति महेश राज दाहालले नेतृत्व तथा व्यक्तित्व विकास विषयमा प्रशिक्षण प्रदान गरेका थिए । उनको उत्कृष्ट र प्रभावकारी प्रस्तुतिका साथ सहभागीलाई कार्यशालामा सक्रिय रूपमा परिचालन गरिएको थियो।

कार्यक्रमका बारेमा जानकारी दिँदै नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनालीले संघको भावी दिशालाई व्यवस्थित बनाउन यो कार्यक्रम फलदायी रहेको बताए।

कार्यशालाले संघको आगामी योजनालाई थप परिस्कृत र प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास संघले लिएको छ।
