काठमाडौं । जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर आजबाट औपचारीक रुपमा सञ्चालनमा आएको छ।
सोमबार आज बिहानदेखि भाटभटेनीको टंगाल स्टोर सञ्चालन भएको हो। शुभारम्भका लागि अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङ पनि स्टोरमा पुगेका थिए।
आज बिहान १० बजेदेखि औपचारिक रूपमा ग्राहकका लागि खुला गरिएको बताइएको छ । गत भदौको जेनजी आन्दोलनका क्रममा २४ गते प्रदर्शनकारीहरूले भाटभटेनीमा आगो लगाएका थिए।
आगजनीबाट ठूलो क्षति पुगेको स्टोरको पुनर्निर्माण सम्पन्न भएपछि पुन: सञ्चालनमा ल्याइएको हो।
कम्पनीका अनुसार जेनजी आन्दोलन क्रममा आगजनीबाट क्षतिग्रस्त भएका १२ स्टोरमध्ये टंगालसहित १० वटा स्टोर पुन: सञ्चालनमा आइसकेका छन्।

बाँकी दमक र हेटौंडास्थित स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ। ती दुवै स्टोरसमेत छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले कठिन परिस्थितिबीच पुनर्निर्माणमा सहयोग गर्ने ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
कम्पनीले पुनर्निर्माण क्रममा चौबीसै घन्टा खटिएका कर्मचारी तथा सहयोगीहरूप्रति पनि धन्यवाद व्यक्त गरेको छ।
टंगाल स्टोर पुन: सञ्चालनमा आएसँगै ग्राहकलाई नियमित रूपमा आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

