काठमाडौं । सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनस्र्थापनामा देखिएको सुस्तता तथा सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र बाढीपीडितको कष्टकर जीवनशैलीप्रति चिन्ता व्यक्त गर्दै सांसदहरूले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका हुन् ।
सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाइन् । उनले मौसमी पूर्वानुमानलाई मध्यनजर गर्दै बाढीबाट नागरिकलाई सुरक्षित राख्न सरकारले गरेको पूर्वतयारीबारे समेत प्रश्न गरिन् ।
‘दसैँ–तिहारको मुखमा तरकारी र मासुको मूल्य अस्वाभाविक बढेको छ, तर सरकारले बाह्य कारण देखाएर पन्छिने गरेको छ,’ उनले भनिन् ।
त्यस्तै, सांसद बुद्धरत्न महर्जनले विपद् प्रभावित परिवारहरू अझै पनि अस्थायी टहरामा बस्न बाध्य रहेको भन्दै उनीहरूको राहत तथा पुनस्र्थापनाका लागि एकमुष्ट प्याकेज घोषणा गर्न माग गरे ।

सांसद भरतप्रसाद पराजुलीले बाढीमा बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने र उनीहरूका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।

सञ्चार क्षेत्रका समस्या समाधान गर्न माग

सञ्चार क्षेत्रका समस्या उठाउँदै सांसद बुद्धिप्रसाद पन्तले सरकारी विज्ञापनमा गरिएको कटौतीप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरे ।
उनले स्वतन्त्र सञ्चार माध्यमलाई सबल बनाउनुपर्नेमा सरकारका नीतिहरूले सञ्चार क्षेत्रलाई संकटमा पारेको आरोप लगाए ।
प्रशासन, शिक्षा र सडक सुरक्षामा पनि ध्यानाकर्षण
सांसद विश्वराज पोखरेलले इलाका प्रशासन कार्यालय स्थापनाको माग दोहोर्याए । सांसद विना गुरुङले सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव तथा भौतिक पूर्वाधारको दुरवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
त्यसैगरी, सांसद भरत गिरीले चाडपर्वका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि प्रमुख राजमार्गहरूको सुरक्षा अडिट गर्न र सवारीसाधनको फिटनेस परीक्षणलाई कडाइका साथ लागू गर्न सुझाव दिए ।
सांसदहरूले उठाएका विषयहरूमा सरकारले आवश्यक कदम चाल्दै महँगी नियन्त्रण, विपद् प्रभावितको पुनस्र्थापना, सञ्चार क्षेत्रको संरक्षण तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।