काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल कोर एफएचआईआर कार्यान्वयन निर्देशिका, संस्करण १.०.० स्वीकृत गरी लागू गरेको छ ।
निर्देशिकाले नेपालका स्वास्थ्य संस्थामा प्रयोग भइरहेका विद्युतीय चिकित्सा अभिलेख तथा अस्पताल सूचना प्रणालीमा बिरामीको स्वास्थ्य विवरण भण्डारण र एक–आपसमा आदानप्रदानका लागि साझा राष्ट्रिय मापदण्ड निर्धारण गरेको छ ।
यसले बिरामी, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, रोग, प्रयोगशाला, औषधि, खोप तथा प्रेषणसम्बन्धी विवरणको ढाँचामा एकरूपता कायम गर्ने आधार तयार गरेको छ । यससँगै विभिन्न स्वास्थ्य संस्थाका विद्युतीय चिकित्सा अभिलेख प्रणालीबीच अन्तरसञ्चालनयोग्यता कायम गर्न राष्ट्रिय आधार बनेको मन्त्रालयले जनाएको छ ।
निर्देशिका पूर्ण रूपमा कार्यान्वयन भएपछि बिरामीको स्वास्थ्य विवरण विभिन्न स्वास्थ्य संस्थामा छरिएर रहने अवस्था घट्ने, एक संस्थाबाट अर्कोमा प्रेषण हुँदा उपचारसम्बन्धी विवरण उपलब्ध हुने र एउटै स्वास्थ्य परीक्षण पटक–पटक गर्नुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ ।

स्वास्थ्य बीमाको दाबी प्रक्रियामा सहजता तथा राष्ट्रियस्तरमा गुणस्तरीय र तुलनायोग्य स्वास्थ्य तथ्याङ्क प्राप्त गर्नसमेत सहयोग पुग्ने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले निर्देशिका स्वास्थ्य संस्था, स्वास्थ्य सेवा प्रदायक, शैक्षिक तथा अनुसन्धान संस्था र अन्य सरोकारवालाका लागि विद्युतीय माध्यमबाट सार्वजनिक गरेको छ । निर्देशिका मन्त्रालयको वेबसाइट https://fhir.digitalhealth.gov.np/core/ मा उपलब्ध रहेको छ ।