काठमाडौं। बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न बस्तीमा क्षति पुर्याएको छ।
बाढीले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण क्याम्प र केही उपकरण बगाउनुका साथै विभिन्न स्थानका मोटरेबल तथा झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ।
चुमनुब्री गाउँपालिका–३ सल्लेरीस्थित टाइम्स इनर्जी प्रालिले प्रवद्र्धन गरिरहेको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण क्याम्प बाढीले बगाएको हो।
आयोजनाको निर्माण लागत ७० अर्ब रुपैयाँ अनुमान गरिएको छ। क्याम्प र उपकरण बगाएपछि आयोजनामा भएको कुल आर्थिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन।
लेदो र गेग्रानसहित नदीमा ठूलो बाढी आएपछि गोरखाको आरुघाट गाउँपालिकामा समेत जोखिम बढेको छ। बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बगाएको छ।

नदीमा ठूला ढुंगा थुप्रिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आरुघाट बजार खाली गराइएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताएका छन्। बाढीका कारण नदी आसपासका बस्ती र पूर्वाधारमा थप क्षति हुन सक्ने जोखिम बढेको छ।
