काठमाडौं। सन् २००० मा स्थापना भएको काठमाडौस्थित चाँदी प्रशोधन तथा कारोबार गर्ने कम्पनी हिमालयन बुलियन कम्पनी लिमिटेड (एचबीसी) ले आइएसओ र एन्ड्रोएड प्रयोगकर्ताका लागि आफ्नो नयाँ मोबाइल एप ‘एचबीसी’ सार्वजनिक गरेको छ।
यस एपमार्फत ग्राहकहरूले आफूलाई सहज हुने रकम र समयमा चरणबद्ध भुक्तानी गर्दै वास्तविक चाँदीका सिक्का तथा बार खरिद गर्न सक्ने छन्। सम्पूर्ण रकम भुक्तानी भएपछि उक्त चाँदी ग्राहकको पूर्ण स्वामित्वमा आउने छ।
सामान्यतया चाँदी खरिद गर्न पहिले एकमुष्ट रकम जम्मा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। तर यो एपले यस प्रक्रियालाई सरल बनाएको छ। अब ग्राहकहरूले आफूसँग उपलब्ध रकमबाटै चाँदी खरिदको सुरुवात गर्न सक्ने छन्।
एप सार्वजनिक गर्ने अवसरमा कम्पनीले ग्राहकहरूका लागि दुई विशेष योजनासमेत घोषणा गरेको छ। सलिको इन्सुरेन्स र एचएसबीसीबीचको सहकार्यमा सबै ग्राहकलाई १० लाखसम्मको व्यक्तिगत दुर्घटना बीमा सुरक्षा उपलब्ध गराइने छ। साथै, तिहारसम्म सञ्चालन हुने विशेष लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकले टेस्ला मोडेल ३ विद्युतीय कार जित्ने अवसर प्राप्त गर्ने छन्।
एचबीसीका अध्यक्षले भने, ’चाँदी किन्नका लागि पहिलेदेखि नै पैसा बचत गर्दै आउनुपथ्र्यो। अब भने आफूसँग जति रकम उपलब्ध छ, त्यतिबाटै आजै सुरुवात गर्न सकिन्छ। अन्त्यमा ग्राहकले पाउने भनेको कुनै डिजिटल अंक होइन, हाम्रो भल्टमा सुरक्षित राखिएको वास्तविक चाँदी हो। जुन हामी स्वयं ग्राहकको हातमा हस्तान्तरण गर्छौं।’

एचबीसी एप कसरी काम गर्छ?

१, खाता खोल्ने र केवासी पूरा गर्ने

ग्राहकहरूले एपमा दर्ता गरी आवश्यक ग्राहक पहिचान प्रक्रिया पूरा गर्नुपर्ने छ।
२, चाँदीको मूल्य हेर्ने
एपको मुख्य स्क्रिनमा दैनिक चाँदीको खरिद मूल्य तथा एचबीसीले पुन: खरिद गर्ने दर हेर्न सकिन्छ।
३, आफ्नो लक्ष्य छनोट गर्ने
ग्राहकहरूले १० ग्राम, २० ग्राम, ५० ग्राम वा १०० ग्रामका चाँदीका सिक्का तथा ५०० ग्राम वा सोभन्दा माथिका चाँदीका बार छनोट गर्न सक्ने छन्।
एकैपटक अधिकतम तीनवटा लक्ष्य सक्रिय राख्न सकिन्छ। ५०० ग्राम वा सोभन्दा माथिका बारमा बनाउने शुल्क लाग्ने छैन।
४, आफ्नो सुविधाअनुसार भुक्तानी गर्ने
एक ग्राम चाँदी बराबरको रकम, कुल मूल्यको ५ प्रतिशत वा सम्पूर्ण रकम एकै पटक वा कति र कहिले भुक्तानी गर्ने भन्ने निर्णय ग्राहक स्वयंले गर्न सक्ने छन्।
५, भल्टमा सुरक्षित भण्डारण
सम्पूर्ण भुक्तानी पूरा नहुँदासम्म ग्राहकले छनोट गरेको चाँदी एचबीसीको भल्टमा सुरक्षित राखिने छ।
एप सार्वजनिक गरिएको विशेष अवसरमा भल्ट शुल्क नि:शुल्क गरिएको छ। साथै, ग्राहकहरूले एचबीसीमा भण्डारण गरिएका आफ्ना चाँदीका उत्पादनहरू एपमार्फत नै पुन: बिक्री गर्न सक्ने छन्।
६, चाँदी संकलन गर्ने
सम्पूर्ण भुक्तानी पूरा भएपछि ग्राहकहरूले कुनै पनि आइतबारका लागि चाँदी संकलन गर्ने समय बुक गर्न सक्ने छन्।
चाँदी संकलन गरिसकेपछि उक्त उत्पादन एपको ‘योर भल्ट’मा देखिनेछ, जहाँ ग्राहकहरूले आफ्नो चाँदीको वर्तमान मूल्यसमेत हेर्न सक्ने छन्।
चाँदी संकलन गरेको तीन दिनपछि ग्राहकहरूले एचबीसीले प्रकाशित गरेको प्रचलित पुन: खरिद दरमा आफ्नो चाँदी कम्पनीलाई बिक्री गर्न सक्ने छन्।