काठमाडौ । काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई काठमाडौंको कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपन बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे छन् ।
प्रहरीका अनुसार २०८३ असोज २२ गते बिहान विद्यालय परिसरमा शिक्षकमाथि कुटपिट भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दाहालले विद्यालयमा कार्यरत एक महिला शिक्षिकालाई लक्षित गरी अश्लील शब्द प्रयोग गर्ने, गालीगलौज गर्ने तथा धाकधम्की दिने गरेका थिए । सोही क्रममा प्रधानाध्यापकलाई घिमिरेको निर्देशनमा मुक्का र लात्ती प्रहार गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको जनाएको छ ।
