गोरखा । बूढीगण्डकी तथा यसको सहायक स्यार खोलामा आएको बाढीले गोरखा र धादिङका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । बाढीबाट अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न मर्मत तथा पुनःस्थापनाका काम भइरहेको छ ।
बाढीले बूढीगण्डकी, टाइम्स इनर्जी प्रालिको ३४१ मेगावाट, दोभान खोलाको २४.५ मेगावाट, यारु खोलाको ३०.५९ मेगावाट र माछा खोलाको १६ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ ।
बाढीका कारण आयोजनाका कर्मचारी बस्ने शिविर, निर्माण उपकरण तथा सामग्री, बेलीब्रिज, पहुँच सडक र आयोजनास्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ ।
गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेजका विद्युत् पोलमा क्षति पुगेको छ । सोती, आर्खेत तथा आरुघाट बजार क्षेत्रमा रहेका विद्युत् वितरण लाइनका पोलसमेत क्षतिग्रस्त भएका छन् । त्यस्तै, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजार क्षेत्रमा न्यून भोल्टेजका छवटा विद्युत् पोलमा क्षति पुगेको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापनाको काम भइरहेका बेला गोरखाको भीमसेन थापा गाउँपालिका–२, ३ र ४ मा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ । त्यसैगरी, आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ र आरुपोखरी शाखामा पनि विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ । बाढीका कारण धार्चे गाउँपालिकाका प्रभावित बस्तीमा पुग्ने पहुँच सडक क्षतिग्रस्त भएकाले विद्युत् सेवा पुनःस्थापनामा कठिनाइ भइरहेको छ ।

पहुँच सडक सञ्चालनमा आएलगत्तै अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका काम अघि बढाइने जनाइएको छ । प्रतिकूल परिस्थितिका बाबजुद प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना गर्न सम्बन्धित निकायले प्रयास जारी राखेको उर्जा मन्त्रालयले जानकारी दिएको छ ।
