काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १६ लाख ९० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
सोमध्ये १० लाख १४ हजार कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुबै गाउँपालिकाका अन्य वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा कात्तिक २५ गते हुनेछ भने ढिलोमा मंसिर १० गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्मा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।