काठमाडौं । एनएमबी बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को अवसरमा र्यापिड टेक प्रा.लि.सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य सम्झौता गरेको छ।
व्यावसायिक संस्थाहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीमार्फत सिधै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ।
सम्झौतापछि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले आफ्नै बैंकिङ प्रणालीभित्र रहेर रकम भुक्तानी, हिसाब मिलान (रिकन्सिलिएसन) तथा अन्य बैंकिङ कारोबार तत्काल गर्न सक्नेछन्।
यसैगरी, साना तथा मझौला ग्राहकले पनि व्यापारिक केन्द्र तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।
निकट भविष्यमा सञ्चालनमा आउने यस सुविधाले अनावश्यक झन्झट हटाउनुका साथै ग्राहकको समय बचत गर्न र वित्तीय कारोबारलाई थप सरल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
