काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले असोज २४ गते शनिबार उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा संस्थाका कर्मचारी, ग्राहक तथा सर्वसाधारण गरी करिब १५० जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये करिब १२० जनाले नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए भने ५९ जनाले रक्तदान गरेका थिए।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यापार अधिकृतलगायत उच्च व्यवस्थापन तहका अधिकारीहरूको उपस्थिति रहेको थियो।
मञ्जुश्री फाइनान्स लिमिटेड २०८३ असोज २८ गते स्थापनाको २०औँ वर्षमा प्रवेश गर्दैछ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। फाइनान्सले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक तथा जनहितकारी कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।
करिब २ लाख १० हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको मञ्जुश्री फाइनान्सले हालसम्म करिब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

फाइनान्स कम्पनीहरूमध्ये अग्रणी संस्थाका रूपमा रहेको मञ्जुश्री फाइनान्सले हाल २८ वटा शाखा कार्यालय र एउटा विस्तारित काउन्टरमार्फत आफ्ना सेवा सञ्चालन गर्दै आएको छ।
