काठमाडौं । गोल्याण फाउण्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्याउने स्वयंसेवकहरूलाई सम्मान गरेको छ ।
फाउण्डेसनद्वारा नुवाकोटमा संचालित होल्डिङ सेन्टरमा सहयोग गरेका ८६ स्वयंसेवकलाई उनीहरूको योगदानको कदरस्वरुप सम्मान गरिएको हो ।

गोल्याण ग्रुपको सामाजिक सहकार्यात्मक सस्था गोल्याण फाउण्डेशनले नुवाकोटको विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा २५ दिनसम्म मानवीय सहायता अभियान सञ्चालन गरेको थियो।


उक्त अभियानअन्तर्गत बाढी प्रभावित परिवारका लागि सामुदायिक भान्छा, स्वास्थ्य सेवा, मनोसामाजिक प्राथमिक सहायता तथा बालबालिकाका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन गरिएको थियो। विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन स्वयंसेवकहरूले निरन्तर खटिएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेले विपद्का समयमा नि:स्वार्थ भावनाका साथ सेवामा खटिएका स्वयंसेवकहरूको योगदानको प्रशंसा गर्दै गोल्याण फाउन्डेसनले सञ्चालन गरेको मानवीय तथा परोपकारी कार्यको सराहना गर्नुभयो ।



गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले स्वयंसेवकहरूको समर्पण, सेवाभाव र सामूहिक प्रयासको प्रशंसा गर्नुभयो। उहाँले समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा योगदान विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै, मानवीय सेवामा निरन्तर सक्रिय रहन स्वयंसेवकहरूलाई प्रोत्साहित गर्दै गोल्यान ग्रुप सधैँ उनीहरूको साथमा रहने विश्वास व्यक्त गरे ।

त्यसैगरी, गोल्याण फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले अभियानका क्रममा फिल्ड कमान्डरका रूपमा प्रत्यक्ष नेतृत्व गर्दै प्राप्त गरेका अनुभवहरू स्मरण गर्नुभयो।
उनले विपद्को समयमा देखिएको सहकार्य, समर्पण र मानवीय भावनाको चर्चा गर्दै अभियानलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण स्वयंसेवक, सहकर्मी तथा सहयोगी संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गरे ।
कार्यक्रममा जेन–जी परिवार कल्याण समाजका उपाध्यक्ष बसन्त किशोर श्रेष्ठ, सदस्य पुरुषोत्तम खतिवडालगायत गोल्याण ग्रुपका विभिन्न नेतृत्व तहका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।