जनकपुरधाम । बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एक किशोर गम्भीर घाइते भएका छन्। झडपका क्रममा गोली चलेको र प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको स्थानीयले बताएका छन्।
घाइते हुनेमा स्थानीय १६/१७ वर्षीय आदित्य पासवान रहेका छन्। जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार पासवानको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ।
अस्पतालमा आवश्यक सेवा–सुविधा, जनशक्ति र स्रोतसाधनको व्यवस्था नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका थिए। सोही विषयलाई लिएर दुई पक्षबीच विवाद बढ्दै गएपछि झडप भएको हो।
स्थानीयका अनुसार उनीहरूले शान्तिपूर्ण प्रदर्शनमार्फत विरोध जनाइरहेका बेला गाउँपालिका र सांसदको दबाबमा प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेपछि स्थिति थप तनावपूर्ण बनेको उनीहरूको भनाइ छ।
उक्त अस्पताल उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय थियो। दिउँसो १ बजेका लागि उद्घाटन कार्यक्रम निर्धारित भए पनि विवाद बढेपछि उनी कलैयामै रोकिएकी छन्।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार कार्यक्रमको निर्धारित समयभन्दा अगावै विवाद चर्किएपछि गोली चलेको हो।

घटनापछि फेटाको अवस्था तनावपूर्ण बनेको छ। झडपका क्रममा करिब एक दर्जन सवारीसाधनमा आगजनी गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले नेपाल प्रेसलाई बताए। स्थिति नियन्त्रणबाहिर रहेको भन्दै उनले थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए।
