काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६२.७ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धिले नाफा बढाउन सहयोग गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.५ प्रतिशतले बढेर २ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ थियो।
बैंकको सञ्चालन मुनाफा भने १४७.१ प्रतिशतले बढेर १ अर्ब २५ करोड ५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो मुनाफा ५० करोड ६० लाख रुपैयाँ थियो। सञ्चालन मुनाफामा भएको उल्लेख्य वृद्धिसँगै बैंकको खुद नाफामा पनि उच्च वृद्धि देखिएको हो।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा समेत सुधार आएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ७ रुपैयाँ ८२ पैसा रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी यस वर्ष १८ रुपैयाँ ७६ पैसा पुगेको छ। समूहको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा छ। बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६१ पैसा रहेको छ।
