काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ७ करोड ४५ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७० प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) ६४.४० प्रतिशतले घटेर ४४ करोड ९९ लाख ५४ हजार रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब २६ करोड ४१ लाख ७ हजार रुपैयाँ थियो । इम्पेयरमेन्ट चार्जमा करिब ८१ करोड ४१ लाख रुपैयाँले कमी आएपछि बैंकको सञ्चालन मुनाफा ३२.४० प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी भने २८.१९ प्रतिशतले घटेको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ९१ करोड २० लाख ५० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा घटेर २ अर्ब ९ करोड १२ लाख ८२ हजार रुपैयाँमा सीमित भएको छ ।
यस अवधिमा बैंकको ब्याज आम्दानी ७ अर्ब ३३ करोड ६१ लाख रुपैयाँबाट घटेर ६ अर्ब १८ करोड ५९ लाख रुपैयाँमा झरेको छ । ब्याज खर्च पनि ४ अर्ब ४२ करोड ४० लाख रुपैयाँबाट घटेर ४ अर्ब ९ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३.९० प्रतिशतले बढेर ८८ करोड २३ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ८४ करोड ९१ लाख ९६ हजार रुपैयाँ थियो । त्यस्तै, खुद ट्रेडिङ आम्दानी २५ करोड ७१ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी ४४ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप र कर्जा दुवै बढेका छन् । गत असार मसान्तको तुलनामा चालु आवको पहिलो तीन महिनामा निक्षेप संकलन ६.३६ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब ३४ करोड १२ लाख रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तो निक्षेप ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ थियो ।

त्यस्तै, ग्राहक कर्जा प्रवाह ७.६८ प्रतिशतले बढेर २ खर्ब ९३ अर्ब ९ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा बैंकको कर्जा प्रवाह २ खर्ब ७२ अर्ब २० करोड २३ लाख रुपैयाँ थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.९८ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा (एनपीएल) चालु आवको सोही अवधिमा बढेर ८.७२ प्रतिशत पुगेको छ । त्यस्तै, खुद निष्क्रिय कर्जा पनि १.५६ प्रतिशतबाट बढेर २.१७ प्रतिशत पुगेको छ ।

बैंकको निक्षेपको लागत (कस्ट अफ फण्ड) ४.२९ प्रतिशतबाट घटेर ३.४३ प्रतिशतमा झरेको छ भने आधार दर ५.८२ प्रतिशतबाट घटेर ४.८० प्रतिशत कायम भएको छ । औसत ब्याजदर अन्तर (स्प्रेड दर) पनि ३.५३ प्रतिशतबाट घटेर ३.०३ प्रतिशतमा सीमित भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.७१ प्रतिशत रहेको छ ।
नाफामा सामान्य सुधार भएसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६.११ रुपैयाँबाट बढेर १६.३९ रुपैयाँ पुगेको छ । पुँजीमा प्रतिफल (आरओई) ११.१० प्रतिशतबाट घटेर ९.५१ प्रतिशत र सम्पत्तिमा प्रतिफल (आरओए) ०.९६ प्रतिशतबाट घटेर ०.८२ प्रतिशतमा झरेको छ ।
बजारमा बैंकको प्रतिसेयर मूल्य २३८.४० रुपैयाँ रहँदा मूल्य आम्दानी अनुपात १४.५५ गुणा कायम भएको छ । हाल २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३१ पैसा, पुँजी पर्याप्तता अनुपात १२.६७ प्रतिशत र तरलता अनुपात ३५.४९ प्रतिशत रहेको छ ।
चालु आवको पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा १४ करोड ७१ लाख रुपैयाँ रहेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ ऋणात्मक थियो ।