काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय जिम्मेवारी बिर्सिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन्। विमानस्थलमा नेताको स्वागतका लागि लाइनमा बसेका एक वरिष्ठ अधिकृत पक्राउ परेको सन्दर्भमा गृहमन्त्री गुरुङले राष्ट्रसेवक कर्मचारीले राजनीतिक दलको झोला बोकेर राजनीति गर्ने छुट नभएको चेतावनी दिएका हुन् । यद्यपि, उनले घटनाक्रम खुलाएका छैनन् ।
हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका छौँ- राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो।
हामी नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ… देशप्रति समर्पित भएर जनताको सेवा गर्ने,’ उनले भनेका छन्, ‘यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ। आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन।’
नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुस भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका थिए। विमानस्थलमा प्रचण्डलाई स्वागत गर्न कर्मचारीहरूको लाइनमा बसेका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का एक वरिष्ठ अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
गृहमन्त्री सुधन गुरुङको ठाडो आदेशमा ती अधिकृतलाई पक्राउ गरिएको बताइएको छ। विमानस्थलमै प्रहरी नियन्त्रणमा लिइएका उनलाई दिनभर सोधपुछ तथा केरकार गरेपछि मात्र साँझतिर रिहा गरिएको थियो।
