प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आइतबार दिउँसो भारत भ्रमणमा जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन आइतबार दिउँसो १:४५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्न लागेका हुन्।
प्रधानमन्त्री बालेनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यतालिका बनेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए। पहिलो पटक औपचारिक विदेश भ्रमण गर्न लागेका बालेनले दिल्ली पुगेपछि पहिलो भेट भारतका विदेशमन्त्री एस जयशंकरसँग हुने तय भएको छ ।
मंसिर ७ मा राष्ट्रपति भवनमा औपचारिक स्वागतपछि राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पण गर्ने र त्यसपछि हैदराबाद हाउसमा मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार मंसिर ७ गते मोदीसँग सुरुमा एक्लाएक्लै र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तापछि संयुक्त पत्रकार सम्मेलन तथा द्विपक्षीय समझदारी र सम्झौतापत्र आदानप्रदानको कार्यक्रम छ। प्रधानमन्त्री शाहले सोही दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नेछन्।