काठमाडौं । एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले समझदारी पत्रमा हस्ताक्षर गरे । गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको कलेजलाई सहयोग गर्न एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग सम्झौता गरेको हो ।यो सहयोगबाट बाढीपछि पठनपाठन ठप्प भएका ३०० सयभन्दा बढी विद्यार्थीहरू फेरि कक्षामा फर्कन सक्ने विश्वास एनसेलले लिएको छ ।
बाढीले यस क्याम्पसका संरचनामा व्यापक क्षति पुर्याएपछि तीन सयभन्दा बढी विद्यार्थीको अध्ययन प्रभावित भएको छ । अब नगरपालिका र क्याम्पस व्यवस्थापनसँगको सहकार्यमा एनसेल फाउन्डेसनले नियमित कक्षा संचालनका लागि ३२ वटा कक्षाकोठाको भौतिक पुर्वाधारमा सहयोग गर्नेछ ।
साथै क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर र फर्निचर लगायत सुविधाहरू पनि उपलब्ध गराउनेछ । यसबाट विद्यार्थीहरूलाई सहज अध्ययन वातावरण तयार हुने र उनीहरूको शिक्षामा थप अवरोध नआउने अपेक्षा गरिएको छ ।
एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि तत्काल प्रभावितहरूको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ करोड राहत सहयोग प्रदान गरेको थियो ।


