काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले व्यापार, लगानी, ऊर्जा, औद्योगिक विकास र पर्यटनका क्षेत्रमा भारतले लगानी विस्तार गर्न सक्ने बताएकी छिन् ।
प्रधानमन्त्री वालेन शाहको २ दिने भारत भ्रमणको क्रममा आइतबार नयाँदिल्लीमा आयोजित नेपाल–भारत आर्थिक साझेदारीसम्बन्धी कार्यक्रममा उनले यस्तो बताइन् ।
उनले नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध विस्तारमा निजी क्षेत्रको सहकार्यले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै महासंघ र भारतीय उद्योग परिसंघबीचको सहकार्यलाई दुई देशका निजी क्षेत्रबीचको आर्थिक साझेदारीको रूपमा प्रस्तुत गरिन् ।
उनले आगामी दिनमा व्यवसाय गर्न सहज वातावरण निर्माण, व्यापारिक अवरोध हटाउने र दुई देशबीच लगानी प्रवद्र्धन गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।
राणाले भारतसँग विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि आशयपत्र (लेटर अफ इन्टेन्ट) प्रक्रिया खुला गर्नु महत्त्वपूर्ण उपलब्धि भएको धारणा राखिन् । यसले भारतीय ऊर्जा कम्पनीहरूलाई नेपाली कम्पनीसँग संयुक्त लगानी, संयुक्त उपक्रम तथा प्राविधिक सहकार्यका लागि नयाँ अवसर सिर्जना गर्ने उनको भनाइ थियो ।

सीमापार लगानी र औद्योगिक मूल्य अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले कृषि प्रशोधन, निर्यातमुखी उद्योग र एकीकृत औद्योगिक पार्क निर्माणमार्फत दुवै देशले आर्थिक लाभ लिन सक्ने बताइन् ।

उनले नेपाल–भारत आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन भौतिक पूर्वाधार र व्यावसायिक कनेक्टिभिटी सुदृढ गर्नुपर्ने राणाको धारणा राखिन ।

उनले वेलनेस तथा आध्यात्मिक पर्यटनलाई नेपाल–भारत सहकार्यको सम्भावनायुक्त क्षेत्रका रूपमा पेश गरिन् ।