दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन् ।
भारतीय प्रधानमन्त्रीले विदेशी विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेट भएको हो ।
त्यसक्रममा प्रधानमन्त्री बालेन र भारतीय समकक्षी मोदीले एकअर्कालाई उपहार प्रदान गरेका छन् ।
प्रधानमन्त्री शाहले रुद्राक्ष, रातो मच्छिन्द्रनाथको मूर्तिसहितको उपहार मोदीलाई दिँदा मोदीले बालेनलाई धातुको कलश उपहार दिएका छन् । यो एक परम्परागत धातुको कलश हो, जसको माथिल्लो भागमा बिर्को र सानो बुट्टा वा आकृति कुँदिएको देखिन्छ।
लिच्छवि राजा नरेन्द्रदेवले भारतको तत्कालीन कामरूप (हालको असम) स्थित कामाख्या क्षेत्रबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएका थिए जसको सम्मानस्वरुप बालेनले मोदीलाई रातो मच्छिन्द्रनाथको मूर्तिसहितको उपहार प्रदान गरेका हुन् ।

नेपाल र भारत दुवैको धार्मिक तथा कूटनीतिक परम्परामा कलशलाई शुभ, समृद्धि र स्वागतको प्रतीक मानिन्छ। उच्चस्तरीय भेटवार्ता तथा राजकीय भ्रमणका क्रममा यस्ता परम्परागत कलात्मक भाँडाकुँडाहरू उपहारका रूपमा आदानप्रदान गर्ने प्रचलन छ।
