काठमाडौं, असोज २७ – नागरिकताको किर्ते प्रमाणपत्र बनाएर करिब रु. ५० करोडको जग्गा हत्याउन खोज्ने केवलप्रताप जंग बहादुर राणालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। राणाले अर्कैको नाममा वीरगन्जमा रहेको ५ कठ्ठा, १५ धुर जग्गा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा आफ्नो बनाएका थिए।
उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ४७७३ नम्बरको मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकता समेत बनाएर जग्गा पास गराएको खुलेको छ । कमलादेवी राजभण्डारीको नाममा रहेको उक्त जग्गा राणाले वास्तविक जग्गाधनी र हकवाला समेतको हक खोसी मुकेश राजभण्डारीको नाममा राजीनामा पास गराएको भेटिएको थियो।
उनले उक्त जग्गालाई फेरि स्थायी घर भएका गिरिधारी लाल अग्रवाललाई विक्री गर्न रु. ५० लाख बैनासमेत लिएका थिए। यसरी किर्ते नागरिकता बनाएर मालपोत कर्मचारीको मिलेमतोमा वास्तविक जग्गाधनीलाई थाहै नदिई जग्गा बेचबिखन भएको उजुरीपछि प्रहरीले अनुसन्धान गरेको थियो।
FACEBOOK COMMENTS