काठमाडौं, पुस ६ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन्। सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरूद्ध एकताबद्ध भएर उभिन अपील समेत गरेका छन्।
दाहालले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्री ओलीले चालेको कदम, प्रतिनिधिसभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भर्त्सना गर्दै पूर्ण रूपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको विषय सार्वजनिक भइसकेको छ।’
दाहालले पार्टीका सबै नेता, कार्यकर्ता, पार्टी पङ्क्तिलाई पार्टी एकतावद्ध रहेको कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर नपर्ने जनाएका छन्।
‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो,’ दाहालको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरूका विरूद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु।’
FACEBOOK COMMENTS