काठमाडौं– माघ १०- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप वितरण अभियान सुरु गरिने बताएका छन् ।
नेपाल सशस्त्र प्रहरीको २०औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माघ १४ गतेदेखि पहिलो चरणको खोप लगाउन सुरु गरिने बताएका हुन् ।
उनले पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी, सुरक्षाकर्मीहरुलाई खोप लगाउने बताए ।
‘कोभिड१९ को सन्दर्भमा हामी कोभिडलाई हटाउने टर्निङ प्वाइन्टमा पुगेका छौं । सम्भवतः १४ गतेबाट खोप लगाउन सुरु गर्नेछौं,’ उनले भने ।
कोभिड–१९मा सशस्त्र प्रहरीले ज्यानको बाजि राखेर खेलेको भूमिकाको प्रशंसा गर्दै उनले स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी धन्यवादको पात्र भएको बताए ।
उनले करिब ४ लाख ५० हजार फ्रन्टलाइनरहरुलाई पहिलो चरणमा खोप लगाउने र अर्को चरणको खोप ल्याउने प्रयासमा लागिरहेको बताए ।
प्रधानमन्त्री ओलीले पर्याप्त खोप आइनसकेकाले अझै केही समय मास्क लगाउने, सामाजिक दुरी, सरसफाइ र खानेकुरामा ध्यान दिन समेत आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS