काठमाडौं, २२ माघ – नेकपा ओली पक्षका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–नेपालबीचको गठबन्धन अपवित्र रहेको आरोप लगाएका छन् ।
बिहीवार नेकपा बागमती प्रदेश कमिटीद्वारा आयोजित स्वयंसेवक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माधव नेपालले सधै पार्टीभित्र कुण्ठामात्र पाल्ने गरेको भन्दै प्रचण्ड–नेपालबीचको गठबन्धन पनि अपवित्र रहेको बताएका हुन् ।
उनले माधव नेपालको विचारहरु कुण्ठाको भारी बोकेको एउटा पात्रले बोल्ने विचार रहेको बताए । अन्तरविरोधमा खेल्ने प्रचण्ड र कुण्ठामा रमाउने माधव नेपालको गठबन्धनलाई पराजित गर्दै लैजाने उनले उल्लेख गरे ।
पोखरेलले सानातिना समस्यालाई पाखा लगाएर पार्टी एकीकरण नै गराउन प्रधानमन्त्री केपी शर्मा ओली सफल भए पनि सरकार र पार्टीलाई आफ्नै नेताहरुबाट असहयोग मात्र मिलेको उल्लेख गरे ।
उनले पार्टीमा भागबण्डा खोजेकै कारण संवैधानिक आयोगमा लामो समय नियुक्त गर्न नसकिएको भन्दै प्रचण्ड-नेपाल पक्ष बाहिरिएसंगै सहज रुपमा आयोगले पूर्णता पाएको तर्क गरे ।
कार्यक्रममा नेकपा ओली पक्षका नेता महेश बस्नेतले अराजकतातर्फ लैजाने प्रवृत्तिलाई परास्त गर्न आफुहरु सफल हुने दावी गरे ।
FACEBOOK COMMENTS