उदयपुर, फागुन १६ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताएका छन् ।
उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढकालले तीनवटै तहका सरकार तथा अन्य सरोकारवाला निकायबाट मुलुकभित्र लगानीमैत्री वातावरण बनाउन सहजीकरण गरिए निजी क्षेत्रमार्फत छोटो समयमा मुलुकको विकास सम्भव रहेको बताएका हुन् ।
छोटो समयमा द्रूत आर्थिक विकास हासिल गर्न सफल रहेको मलेसियामा जस्तै यदि राज्यले लगानीको वातावरण निर्माण गरी निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गरिदिने हो भने विकास गर्न समय नलाग्ने बताए ।
मुलुक संघीयतामा गइकेपछि नेपालमा पनि धेरै स्थानीय तहमा लगानीको लागि एक प्रकारको प्रतिष्पर्धा हुने गरेको बताउँदै उनले रोजगारी सृजना गर्न, राजश्व संकलन गर्न तथा भौतिक पूर्वाधार निर्माणमा राज्य–निजी क्षेत्र साझेदारी गरेर अगाडि बढ्दा धेरै कुराहरु गर्न सकिने उनले बताए ।
देशभित्रै रोजगारी सृजना गर्न र बढीभन्दा बढी राजश्व संकलनका लागि तीनतहको सरकारको तर्फबाट व्यवसाय र व्यवसायीलाई सहजीकरण गर्नुपर्ने बताउँदै उनले रोजगारी र राजश्वको पहिलो लाभग्राही स्थानीयतहहरु भएकोले स्थानीय तहले लगानीमैत्री वातावरण बनाउन विशेष पहल गर्नुपर्ने बताए । “मुलुकभित्र रोजगारी सृजना गर्ने, राजश्व उठाउन सहयोग गर्ने जुनसुकै असल व्यवसायलाई सबै तहका सरकारहरुले सहजीकरण गर्नुपर्छ । यसको प्रत्यक्ष र पहिलो लाभग्राहीको हिसाबले पनि स्थानीय सरकारहरुको भूमिका अहम् रहन्छ,” उनले भने ।
FACEBOOK COMMENTS