काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायातलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने कि केही दिन पर्खने भन्नेमा छलफल भएको तर टुंगो भने नलागेको बताए ।
‘निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने भन्ने विषयमा छलफल भयो, सार्वजनिक सवारीलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने भन्ने विषय पनि उठेका छन्, तर टुंगो लागेको छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।
निषेधाज्ञाको मोडालिटीलाई अब कसरी अघि बढाउने भन्ने विषय थप छलफलपछि सोमबार बस्ने बैठकले टुंगो लगाउने उनले जानकारी दिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सार्वजनिक सवारी साधनलाई सीमा तोकेर सञ्चालन गर्न दिने विषयमा छलफल भएको जानकारी दिए ।
उनका अनुसार यसरी सीमा तोक्दा साना सवारी साधनभन्दा ठूला र दूरी कायम हुन सक्ने सवारी साधन सञ्चालन हुन सक्ने आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS