काठमाडौं, ६ भदौ । अमेरिकाको टेनेसी राज्यमा शनिबार राति एक्कासी आएको बाढीले कम्तीमा १० जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन् । मृतकमा २ जना शिशु पनि रहेको हम्फ्रीज काउन्टीका सेरिफ क्रिस डेभिसले अमेरिकी सञ्चारमाध्यम सिएनएनसँग बताएका छन् ।
बाढीले ७२ माइलसम्म क्षति गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बाढीले सडक र बिजुली अवरुद्ध भएको छ । टेनेसी आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार राज्यभरि कम्तीमा ४ हजार २ सय व्यक्ति अँध्यारोमा बस्नुपरेको छ । टेनेसीका हिकम्यान, ह्युस्टन र हम्फ्रीज काउन्टीमा पूर्णतया र डिक्सन काउन्टीको केही ठाउँमा विद्युत अवरुद्ध भएको पनि एजेन्सीले जनाएको छ ।
‘बाढी आएको सडकमा यात्रा नगर्न अनुरोध छ’, एजेन्सीले स्थानीयसँग आग्रह गर्दे भनेको छ । एजेन्सीले आफ्ना अधिकांश कर्मचारी बाढीका कारण कार्यालय आउन असमर्थ भएकाले विद्युत सेवा फेरि प्रदान गर्न समय लाग्न सक्ने बताएको छ ।
टेनेसीको मध्य भूभागमा शनिबार राति कम्तीमा पनि १५ इन्च भीषण वर्षा भएको न्याशविलेस्थित राष्ट्रिय मौसम केन्द्रले जनाएको छ । वर्षाको यो परिमाणले यसअघिका २४ घण्टामा भएको सर्वाधिक वर्षाका सबै कीर्तिमान उछिनेको पनि केन्द्रले उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS