काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्धमात्रै आए जो–कोहीलाई पनि कारबाही हुने बताएका छन् ।
प्रेस सेन्टर नेपाल काठमाडौँको वार्षिक साधारणसभामा मन्त्री मोदीले भ्रष्टाचार नियन्त्रणमा सरकार पूर्णरूपमा लागिपरेको र कोही कसैलाई पनि छुट नदिइने बताए । उनले भने, “विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालय मातहतका कर्मचारी हुनुहुन्छ, मैले सबैलाई भनेको छु, भ्रष्टाचारको गन्धमात्रै आएको खण्डमा पनि कारबाही हुन्छ ।” भ्रष्टाचारलाई निर्मूल पारी सुशासन कायम गर्ने गरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको बताउँदै उनले भ्रष्टाचारको गन्धमात्रै आउने गरी काम देखिए कारबाही गर्ने बताए ।
मन्त्री मोदीले अहिलेको सरकारको प्राथमिकता भनेकै सुशासन कायम गर्ने भएकाले कर्मचारीबाट त्यसको कार्यान्वयन हुनुपर्ने उल्लेख गरे । “प्रधानमन्त्रीको पहिलो मिसन भनेको सुशासन हो । सामाजिक न्याय, सुशासन र विकास र समृद्धि अहिलेको सरकारको मुख्य मिसन हो । यसबाहेक अन्य कुरामा ध्यान दिएको खण्डमा सबैलाई जुनसुकै हदसम्मको कारबाही हुन्छ”, उनले भने ।
आफूले सम्हालेको मन्त्रालयमा सुशासनसँग जोडिएका दूरगामी महत्वका काम अगाडि बढाएको बताउँदै उनले भने, “सङ्घीय निजामती सेवा ऐन ल्याउने र सुशासन कायम गर्ने विषय नै मेरो पहिलो प्राथमिकताको विषय हो, अहिले हामी निमित्तको शासन हटाउने काममा लागेका छौँ ।”
मन्त्री मोदीले अगाडि भने, “मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि स्थानीय तहमा निमित्त नदिने, जसको जहाँ दरबन्दी छ त्यहाँ फर्किने गरी नीतिगत निर्णय गरेका छौँ । अहिले झण्डै एक सयको हाराहारीमा निमित्त हटाएका छौँ, यो क्रम जारी रहन्छ ।”

कसैको सोर्सफोर्स नसुनीकन बढुवा भएका उपसचिवहरूलाई स्थानीय तहमा खटाएको जानकारी दिँदै उहाँले सरकारले खटाएको स्थानमा नजानेलाई कारबाही हुने बताए ।

आफूले दुई महिनामा सबै सरोकारवालासँग छलफल गरेर सङ्घीय निजामती सेवा ऐन कानुन र अर्थ मन्त्रालयमा रायका लागि पठाएको बताउँदै उनले भने, “कुनै पनि हालतमा सङ्घीय निजामती ऐन ल्याइछाड्ने अहिलेको सरकारको सङ्कल्प हो, हामीले दुई महिनामा सबै पक्षसँग छलफल गरेर यो ऐन रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएका छौँ, यो ऐन हामी कुनै पनि हालतमा ल्याउँछौँ ।”