काठमाडौं । बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । वैशाख ३१ गते आयोजित उद्घाटन समारोहसँगै नयाँ शो रुम सञ्चालनमा ल्याइएको हो ।
आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहककेन्द्रित सेवा समेटिएको कम्पनीले जनाएको छ ।

उक्त केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्शदेखि चेतक ईभीका निम्ति विशेष सेवा सुविधा समेत एउटै स्थानमा उपलब्ध गराइएको छ ।
उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रतिनिधि तथा नेपालका निम्ति बजाज दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका व्यवस्थापन टोलीको उपस्थिति थियो ।

शो रुममा आउने ग्राहकले डिजिटल प्रोडक्ट डिस्प्लेमार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् । प्रशिक्षित ईभी विज्ञमार्फत विद्युतीय सवारी, चार्जिङ समाधान तथा स्मार्ट फिचरसम्बन्धी परामर्श पनि प्राप्त गर्न सकिनेछ ।

चेतकको आकर्षक र परिष्कृत पहिचानलाई प्रतिविम्बित गर्ने गरी निर्माण गरिएको यो शो रुममा आधुनिक इन्टेरियर तथा इन्टरएक्टिभ टचपोइन्ट समावेश गरिएको छ । यसले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।