काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरूप नरहेको जिकिर गरेका छन् ।
पार्टीबाट निस्कासित भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, ‘आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।’
एमाले सचिवालय बैठकले उनलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । एमालेमा रहँदा उनलेसरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गरेका थिए ।
पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रूचाउने डा रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी थिए । विसं २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौतीलगायत विषय उनले आज पत्रकार सम्मेलनमा सुनाए ।
FACEBOOK COMMENTS