काठमाडौं ।काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘आईएमई–पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससीटी स्मार्ट क्युआर युनियन–पे’ शुरू भएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका नौलो प्रविधिहरूको प्रदर्शन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी दिएका छन् ।
उनका अनुसार इन्फोटेकको शीर्ष प्रायोजन आईएमई–पेले गरेको छ भने सह–प्रायोजन एससीटी स्मार्ट क्युआर युनियन–पेले गरेको छ । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनी क्यान इन्फोटेक भएको महासंघको महासंघको भनाइ छ ।
कोरोना भाइरस महामारीले उत्पन्न परिस्थितिहरूका कारण यसअघि दुई पटक स्थगित भएको मेला यो पटक राजधानीमा मात्रै गरिने भएको छ । यसअघि मेला आयोजना गर्दा सबै प्रदेशहरूमा एकसाथ आयोजना गर्ने गरिएको महासंघले जानकारी दिएको छ । यद्यपि, यो पटक भर्चुअल रूपमा पनि प्रदर्शनीको व्यवस्था मिलाइएकाले देशभरबाट काठमाडौंको प्रदर्शनी अवलोकन गर्न सकिने महासंघको भनाइ छ ।
‘क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रूपमा सहभागिता हुनसक्ने गरी भर्चुअल प्रदर्शनीको समेत व्यवस्था गरिने छ,’ महासंघका महासचिव नारायण थापाले भने, ‘भर्चुअल प्रदर्शनीका निम्ती मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रूपमा क्यान महासंघसँग सहकार्य गरेको छ ।’ क्यान मेलाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने अपेक्षा महासंघले लिएको छ ।
प्रायोजक
इन्फोटकको प्लाटिनम प्रायोजक वल्र्डलिंक कम्युनिकेसन, डायमण्ड प्रायोजक डिस होम फाइबरनेट, गोल्ड प्रायोजकमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड रहेका छन् । त्यसैगरी सिल्भर प्रायोजकमा नमस्ते–पे, डिजिकम, एस पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज र टेकमिन्ट रहेका छन् । त्यसैगरी इन्नोभेसन पार्टनरमा सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनरको रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब, ई–कमर्श पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रुपमा अल्ट्रा एलईडी रहेका छन् । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आईएमई बैंक र अफिसियल इन्स्योरेन्सको रुपमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् ।
सहयोग
इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएशन अफ नेपाललगायत अन्तर्राष्ट्रिय संस्था विट्सालगायतको सहयोग रहेको महासंघका महासचिव थापाले जानकारी दिएका छन् । उनका अनुसार क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू रहने छन् । जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसीटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र ई–गभर्नेन्स मुख्य रहने छन् ।
सहभागिता
ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहने छ । फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरुको सूचना तथा सञ्चार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धी उत्पादनहरू रहने छन् ।
त्यस्तै स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्ने छन् । इन्नोभेसनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ । सूचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवर्द्धन गर्ने आफ्नो योजना अनुरूप क्यान महासंघले स्टार्टअप र इन्नोभेसनलाई विशेष प्राथमिकतामा राखेको महासचिव थापाको भनाइ छ ।
प्रडक्ट लञ्चिङ र बिक्री
क्यान इन्फोटेक, २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, वाईफाई तथा इन्टरनेटलगायत कुराहरू रहनाका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्डडिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा विक्रीमा राख्ने छन् । त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारि, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने छन् ।
प्याभेलियन
प्रर्दशनीमा टिकटक प्याभेलियन, अम्ब्रेला स्ट्रिट रहनाका साथै यो प्रर्दशनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने थलो पनि हुने विश्वास महासंघले गरेको छ । साथै, महामारी तथा बन्दाबन्दीका बेलामा देखिएको सूचना तथा सञ्चार प्रविधिको अपरिहार्यताले सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई यस क्षेत्रप्रति थप आकर्षित गरेको हामी सबैले महशुस गरेका छौँ । त्यसैले पनि यो वर्षको क्यान इन्फोटेक अझ विशेष हुने हाम्रो महासंघको छ ।
खाना
प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रबन्ध गर्न रेबानसँग सहकार्य गरिएको महासंघले जनाएको छ ।
यो पनि पढ्नुहोस्–
क्यान इन्फोटेक भोलिदेखि, ई–टिकट नलिनेलाई १०० रुपैयाँ शुल्क, निःशुल्क प्रवेश पाउने को–को ?
विगतको तुलनामा यो वर्षको क्यान इन्फोटेक मेला फरक र तीव्र प्रभावी बनाइने छ (भिडियोसहित)
FACEBOOK COMMENTS