काठमाडौं । जाबी अलोन्सो चेल्सीको मुख्य प्रशिक्षक बन्ने भएका छन् ।
गत जनवरीमा रियल म्याड्रिडको प्रशिक्षकबाट राजीनामा दिएका अलोन्सोले चेल्सीमा चार बर्षको सम्झौता गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
उनले चेल्सीमा २०३० को जुनसम्मका लागि सम्झौता गरेका छन् र चेल्सीले छिट्टै यस बारेमा आधिकारीक घोषणा गर्ने बताइएको छ । उनको सम्झौता जुलाई १ देखि शुरु हुने भएपनि उनले खेलाडी ट्रान्सफर लगायतका विषयमा तत्कालदेखि काम शुरु गर्ने भएका छन् ।
अलोन्सोले यसअघि रियल म्याड्रिड र बायर लिभरकुसनको प्रशिक्षक बनेका थिए । रियल म्याड्रिडमा उनको कार्यकाल सफल नभए पनि लिभरकुसनमा भने उनले टिमलाई जर्मन लिग, डिएफबी पोकाल र डिएफएल सुपर कपको उपाधि जिताएका थिए ।
४४ बर्षिय स्पेनिस मिडफिल्डर अलोन्सोले आफ्नो खेल जीवनको ६ बर्ष लिभरपुल र ६ बर्ष रियल म्याड्रिडमा बिताएका थिए । उनले ३ बर्ष बायर्न म्युनिखमा खेलेपछि सन्यास लिदै प्रशिक्षणतर्फ लागेका थिए । खेलाडीको रुपमा उनले स्पेनको राष्ट्रिय टिमबाट भने २००३ देखि २०१४ सम्म ११४ खेल खेलेका थिए । उनी स्पेनले २०१० को विश्व्कप तथा २००८ र २०१२ को युरोकप जित्दा टिमको महत्वपूर्ण सदस्य थिए ।
