काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज सञ्चालनमा आएको छ ।
२०७६ जेठ २८ गते स्थापना भएको कम्पनीले आजदेखि धितोपत्र दलालका रुपमा सेवा सञ्चालनमा ल्याएको हो । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डेले आज एक समारोहकाबीच कम्पनीको टीएमएस सेवा शुभारम्भ गरेका हुन् ।
सीबीआईएल सेक्युरिटिजले गत साउन ३२ गते नेपाल धितोपत्र बोर्ड र असोज २९ गते नेपाल स्टक एक्सजेञ्ज लिमिटेडबाट धितोपत्र दलालका नं. ९१ को सदस्यता प्राप्त गरेको थियो ।
ललितपुरको कुपण्डोलस्थित सिटिजन्स बैंक लिमिटेडको शाखा कार्यालय रहेको भवनमा सेक्युरिटिजको कार्यालय रहेको कम्पनीले जनाएको छ । सो कार्यालयबाट ब्रोकर खाता खोल्ने सेवालगायत डिम्याट खाता तथा केन्द्रीयकृत ‘केवाईसी’ खोल्ने सेवा समेत प्रदान गरिएको छ ।
साथै, बैंक र सेक्युरिटिजको कार्यालय एउटै भवनमा रहेका कारण ग्राहकहरुले बैंक खाता खोल्न तथा शेयर धितो कर्जा समेत एकै भवनवाट सेवा प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीले निकट भविष्यमा देशका विभिन्न प्रदेशहरुमा शाखा खोली ग्राहकहरुलाई उच्चस्तरको धितोपत्र दलाल सेवा प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा वित्तीय संस्थाले आप्mनो शतप्रतिशत स्वामित्व भएको सहायक कम्पनीमार्फत धितोपत्र दलालको रुपमा काम गर्न सक्ने व्यवस्था अनुरुप सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको यो पहिलो संस्था भएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

धितोपत्र बजारमा एक विश्वसनीय धितोपत्र दलालको रुपमा स्थापित हुने उद्देश्यले स्थापित यो कम्पनीमा अनुभवी कर्मचारीद्वारा छिटो एवम् छरितो सेवा प्रदान गरिने कम्पनीको भनाइ छ ।

यसअघि बैंकले आफ्नो प्रमुख लगानीमा सिटिजन्स क्यापिटल लिमिटेड पनि स्थापना गरी सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको कम्पनीले जनाएको ।