काठमाडौं । नेपालीहरुको महान् पर्व दसैं भित्रिएसँगै यस सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक भैरहेका छन् । यसैविच गीतकार निर्मलराज पौडेलको ‘बडा दसैं बडा दसैं, हर्षको आगमन’ नामक दसैँगीत सार्वजनिक भएको छ ।
गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा , मनिष पौडेलले स्वर दिएकी छन् । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने कोरियोग्राफी दिपिका थापाले गरेकी छन् । उक्त गीतमा कलाकार गोपाल ढकाल “छन्दे”, नवराज कार्की का साथै वेलकम परिवारले अभिनयमा साथ दिएका छन् ।
गीतकार तथा गायक पौडेलले भने, “बिगत दश–पन्ध्र वर्ष अगाडि सम्म पनि बडा दसैं को रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउदै गएको महसुस हुन थालेको छ ।
त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्तति हरुले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।” गीतमा नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको तीज गीत पनि सार्बजनिक भएको थियो ।
