काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनरत कानून व्यवसायीहरुलाई छलफलमा बोलाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाइमा आन्दोलन भएको एक महिनापछि प्रधानमन्त्री देउवाले कानुन व्यवसायीलाई भेटघाटका लागि शुक्रबार विहान १० बजेको समय दिएका हुन् ।
बार महासचिव लीलामणि पौड्यालका अनुसार, प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धिकरणको अवधारणाका विषयमा छलफल हुनेछ ।
छलफलमा बार पदाधिकारीका साथै वरिष्ठ अधिवक्ता दमननाथ ढुंगाना, बद्रीबहादुर कार्की, शम्भु थापा, हरिहर दाहाल, रमण श्रेष्ठ, प्रेमबहादुर खड्का पनि सामेल हुने तय भएको छ । त्यसैगरी नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्षका साथै केही पदाधिकारी पनि जादैछन् ।
FACEBOOK COMMENTS